धरान: प्रत्यासी उम्मेदवारहरुले धरान उपमहानगरपालिकाले निर्धारण गरेको करलाई चुनावी एजेण्डा बनाइरहदा नेकपाका उम्मेदवार प्रकाश राईले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आज शुक्रबार धरानको वडा नं १६ मा घरदैलो अभियानको क्रममा जनपथ लाइनमा बोल्दै उम्मेदवार राईले करको बिषयमा सरोकारवाला र विज्ञहरुसँग छलफल गरेर पुनरावलोकन गर्ने प्रतिवद्धता जनाएका छन् । आफु पनि धरानको करदाता भएको र कर वृद्धि स्वभाविक प्रक्रिया भएपनि केही बढी भएको अनुभव आफुले पनि गरेको उम्मेदवार राईले बताए । ‘धरानमा केही कर वढेको मैले पनि अनुभव गरेको छु, म पनि एउटा करदाता नै हुँ,’उनले भने ।

आफु निवार्चित भएर गएपछि पहिलो प्राथमिकता नै धरानबासीको माग र आवाजलाई सम्बोधन गर्ने उनले बताए । स्थानीय सरकारले वृद्धि गरेको करबाट निराश नहुन पनि उनले धरानवासीलाई आग्रह गरेका थिए । उनले भने,'म जितेर गएपछि अवश्य पनि धरानवासीको लागि करको विषयमा पहिलो प्राथमिकतामा राख्ने छुँ, त्यसका लागि करदाता, विज्ञ र सरोकारवाला सबैसँग छलफल गरेर अघि बढ्नेछु ।’

उनले सबै पक्षसँग सल्लाह गरेर सबैले तिर्न सक्ने गरी कर निर्धारण गर्नु आफ्नो जिम्मेवारी रहने पनि बताए । ‘सबै सँग सल्लाह गरेर सबैलाई न्याय हुने गरी कर निर्धारण गर्नु मेरो जिम्मेवारी हुनेछ, र म त्यो काम गर्ने छु,’उनले भने ।