धरान: धरानको पुरानो र चर्चित फुटबल प्रतियोगिता हो, गोधुली रनिङ कप । बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो गोधुली कपले धरानको धेरै प्रतिभावान खेलाडीहरु जन्माएको छ ।

यही अन्तरवडास्तरीय टुबोर्ग गोधुली रनिङ कपको २० औं सँस्करण आगामी पुष महिनामा आयोजना हुने भएको छ । आयोजक गोधुली क्लबले शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै पुष १९ गतेदेखि माघ ४ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुनेछ । प्रतियोगितामा धरानको वडा कार्यालयहरुले फुटबल टिम तयार गरेर सहभागीता जनाउने गरेको छ । यसपाली धरानको २० वटै वडा कार्यालयहरुमा पत्राचार गरेर सहभागिताको लागि आहवान गरिएको क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए ।

यो प्रतियोगिता २०५० सालदेखि शुरु भएको हो । प्रतियोगितामा सम्बन्धित वडामा स्थायी बसोबास भएका खेलाडीले मात्र भाग लिन पाउछन् । क्लबले यसपटक प्रतियोगिताबाट हुने मुनाफाले भवन निर्माणको काम अघि बढाउने क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउनेछ । यस्तै, उत्कृष्ट खेलाडीसहित विभिन्न ८ विधामा उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कार दिइने सचिव युवराज अधिकारीले जानकारी दिए । साथै, यसपाली प्रतियोगितामा सहभागी हुने टिमले कुनै न कुनै सामाजिक काम पनि अनिवार्य गर्नुपर्नेछ ।

गोधुलीमा हालसम्म सबैभन्दा बढी वडा नं १९ ले ६ पटक च्याम्पियन भएको छ भने वडा नं ८ ले ४ पटक, वडा नं ११ ले ३ पटक उपाधि जितेको छ । यस्तै, वडा नं १८ ले २ पटक, वडा नं १७ ले २ पटक र वडा न. १५ र १३ ले एक एक पटक उपाधि जितेको छ । गोधुली कपमा गत बर्ष वडा नं १७ ले जितेको थियो ।