काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक डायलासिस गरिने भएको छ । यसअघि पनि दुईपटक डायलासिस गराइसक्नुभएका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको अस्पताल स्रोतले जनाएको छ उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले आज धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई यसअघि भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले दावी गरेका छन् ।

डायलासिस नियमित स्वास्थ्य परीक्षणकै एक विधि भएको पनि चिकित्सकको भनाइ छ । प्रधानमन्त्री ओली गत ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस)बाट उपचार गरी गत २० भदौमा स्वदेश फर्किएका थिए । त्यसअघि साउनमा पनि उनले सिंगापुरमा उपचार गराएका थिए ।