धरान: बुढासुब्बा टुबोर्ग गोल्डकपको प्रर्वद्धन गर्ने उद्देश्यले धरान फुटबल क्लबले आयोजना गरेको चौथो प्रमोशन कपको उपाधी धरान उपमहानगरपालिकाले जितेको छ ।

शनिबार धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको खेलमा टाइब्रेकरमा ४–२ गोल अन्तरले धरान फुटबल क्लबलाई पराजित गरी धरान उपमहारपालिकाले उपाधी जितेको हो । टाइब्रेकरमा धरान उपमहानगरपालिकाका गोल किपर सन्तोष कार्कीले दुई वटा गोल किक बचाएपछि धरान उपमहानगरपालिकाले जितेको हो । धरान उपमहानगरपालिकाको तर्फबाट टाइब्रेकरमा रिकेश लिम्बू, राजा मरिक, सुजन बस्नेत र किसान राईले गोल गरे । त्यस्तै गरी धरान फुटबल क्लबका तर्फबाट टाइब्रेकरमा जनक सुनुवार र सुमन केसीले गोल गरे भने राकेश राई र अर्जुन राईले गोल गर्न सकेनन् ।

यस अघि निर्धारित समयको खेलमा धरान फुटबल क्लबका तर्फबाट लक्ष्मण राईले गोल गरी अग्रता लिएका थिए । उनले खेलको सुरुवातमा नै डिबक्स नजिकबाट आकर्षक गोल गरे । तर खेलको अन्तिम मिनेटमा धरान उपमहानगरपालिकाका सुजन बस्नेतले गोल गरी खेल बराबरीमा पु¥याएका थिए ।

IMG_9215

फाइनल खेलको म्यान अफ द म्याच धरान फुटबल क्लबका लक्ष्मण राई घोषित हुँदै नगद २ हजार पुरस्कार जिते । त्यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै तिर्थराज मगरले ३ हजार नगद जिते । प्रतियोगिताको बेष्ट डिफेन्स धरान फुटबल क्लबका सुमन केसी, बेष्ट गोल किपर धरान उपमहानगरपालिकााका सन्तोष कार्की, बेष्ट स्ट्राइकर तथा उच्च गोलकर्ता धरान फुटबल क्लबका जनक सुनुवार, बेष्ट मिडफिल्ड धरान उपमहानगरपालिकाका किसान राई र बेष्ट कोच धरान उपमहानगरपालिकाका सतिस केसी घोषित हुँदै जनही दुई/दुई हजार पुरस्कार जिते ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि धरान १७ नं. वडाका वडाध्यक्ष मनोज भट्टराईले बुढासुब्बा गोल्डकप देशकै उत्कृष्ट गोल्डकप भएको र धरानको इज्जत प्रतिष्ठा समेत भएको बताए । धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो भूमिका खेलीरहेको बताए । उनले फुटबल खेललाई पूर्ण रुपमा व्यवसायीक बनाउन आफु लागि परेको र पछिल्लो समय फुटबल व्यवसायीकता तर्फ अघि बढेको बताए ।