काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।

अनुशासनहीन काम गरेको भन्दै एन्फाले ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको हो । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो । उनीहरु शुक्रबार राति ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो । कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ । नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तर्रा्ष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो ।