इटहरी: अत्यन्तै महत्वपुर्ण रहेको चीन र भारतलाई जोड्ने निर्माणाधिन रहेको विराटनगरको रानीदेखि धरानसम्मको सडकमा विवाद चुलिदै गएको छ ।

सडक विभागले ८२ फुट सडक निर्माण गर्ने भनेपनि इटहरीको मुख्यचौक आसपासमा ५५ फिट मात्र सडक चौडा गरिएको भन्दै विरोध पनि हुदै आएको छ । मापदण्ड अनुसार सडक विस्तार नहुने भएपछि शनिबार इटहरीका युवाहरुले २ सय १ सदस्यीय संघर्ष समिति पनि गठन गरेका छन् । सोही समितिले आईतबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई भेटेर ज्ञापन पत्र बुझाएको छ । समितिले आयोजना प्रमुखले भनेजस्तो मापदण्ड अनुसार नै सडक विस्तार भए नभएको अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

यस्तै, समितिले उपमहानगरपालिकाले चाडै काम अघि नबढाए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । ‘आयोजना प्रमुखले हाल बनिरहेको सडकमा एकरुपता भएको भनेर सार्वजनिक अभिव्यक्ति दिएको हुँदा इटहरी उपमहानगरपालिकाले सो अनुसार भए नभएको बिषयमा सर्वपक्षीय अनुगमन गरी प्राविधिक प्रतिवेदन तयार पारी सबैमा जानकारी गराउन जोडदार माग गर्दछौं,’ज्ञापन पत्रमा भनिएको छ,‘६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर कायम रहने गरी सर्भिस लेन सहितको व्यवस्था रहेको हुँदा सो अनुसारको कायम गराउन जोडदार माग गराउँदछौं । यसकार्यमा इटहरी उपमहानगरपालिकाको भूमिका महत्वपूर्ण रहने हुँदा तत्काल कारबाहीप्रक्रिया अगाडि बढाउन माग गर्दै माग पुरा नभएमा आगामी दिनमा कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

itri-sadak1

रानी–बिराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राजमार्ग एकरुपता नहुँनु दुःखद् रहेको संघर्ष समितिका संयोजक मदन चुडालले बताए । उनले ज्ञापन पत्र बुझाउँदै भने,‘राष्ट्रिय गौरवको आयोजनामा एकरुपता नहुनु दुःखद् रहेको छ, जनता–जनताबीच नै टकराबको अवस्था सृजना भएको छ, उपमहानगरपालिकाले यस बिषयमा उचित निर्णय लिनु जरुरी रहेको छ ।’ उनले तरहरा इटहरीको भौतिक पूर्वाधार भत्काउने कुरामा विभेद गरिएको आरोप लगाउँदै सडकको मुख्य भागदेखि दायाँ, बायाँ २५–२५ फुट नै कायम हुनुपर्ने तर्क गरे । त्यस्तै, संघर्ष समितिका सह–संयोजक होमनाथ धमलाले भने संघीय सरकारले २५ फुट कायम गर्न निर्देशन दिएको सडकमा स्थानीय सरकार बाधक बनेको आरोप लगाए । ‘गाउँ घरकय मानिसहरुको घर भत्काउनका लागि केही समस्या भएन,’उनले भने, ‘यस बिषयमा उपमहानगरपालिका किन चुप लागेर बसेको छ ?’

स्थानीय युवा नवराज सुवेदीले सीमित मानिसहरुको फाइदा हेर्दा पछि आफैंलाई घाटा हुने तर्क गर्दै भने,‘सीमित मानिसहरुको फाईदाका हेरियो भने, भविष्यमा घाटा हुन्छ, हामीलाई यहि ठाउँ राजधानी पनि चाहिने, विकास पनि चाहिने अनि बाटो बन्न नदिने ?’ ज्ञापन पत्र बुझ्दै मेयर द्धारिकलालचौधरीले आँफूहरुले पटक–पटक आयोजनाका पदाधिकारीसँग आफूहरु बसेर छलफल गरेको बताउँदै सडक विभागको डिजाइन आफूहरुले फेरबदल गर्न नसक्ने बताए ।

उनले भने,‘सडक विभागको मापदण्ड २५ फुट नै हो, तर इटहरी चोकदेखि दक्षिण २० मिटर कायम गर्ने विभागले जानकारी दिएको छ ।’ उनले सडक विभागसँग आफूले छलफल गर्दा अहिले काम रोकेको खण्डमा सुस्त हुने र कामले गति नलिने प्रतिक्रिया दिदैँ आएको बताउँदै भने, ‘विभागले तरहरा र यहाँको सडक डिजाइन फरक नरहेको बताउँदै आएको छ, नगरपालिकाले सडक विभागको डिजाइनमा फेरबदल गर्न मिल्दैन, जे डिजाइन छ, सोही अनुरुप नै काम हुन्छ ।’