धरान: लालीगुँरास नगरपालिका तेह्रथुमका मेयर अर्जुनबाबु माबुहाङले कम्युनिष्ट नेतृत्वको धरान उपमहानगरले कर बृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाएका छन् ।

धरान १६ को समीचोकमा सोमबार आयोजित कोणसभामा बोल्दै उनले जनतालाई दुःख दिने कम्युनिष्टहरुलाई भोट नदिन पनि अपिल गरे । सोही सभामा सुनसरी क्षेत्र नं १ का सचिव मुरारी भट्टराईले केन्द्रदेखि धरानसम्मका कम्युनिष्ट नेताहरुले झुट बोलेर जनता झुक्याउन माहिर भएको आरोप लगाए । उनले २८ बर्षदेखि धरानलाई एकलौटी शासन गरेको कम्युनिष्टका बिरुद्ध यसपाली जनताले कांग्रेसलाई भोट दिने बताए । उनले धरान उपमहानगरपालिका अहिले कम्युनिष्ट नेताको आसेपासेलाई जागिर खाने ठाउँ भएको पनि आक्षेप लगाए । उनले गरिब, सुकुम्बासी, सोझासिधा धराने जनतालाई कम्युष्टिको नाममा झुक्याएको बताए ।

त्यस्तै अर्का क्षेत्रीय सचिव रमेश काफ्लेले धरानको विकासमा नेपाली कांग्रेसको महत्वपूर्ण भुमिका रहेको बताए । ००७ सालको क्रान्ति, ०३६, ०४६ सालको आन्दोलन, ०६२/०६३ सालको जनआन्दोलनमा कांग्रेसको नेतृत्व भएको र संविधान नेपाली कांगेसको सहभागिता, नेतृत्वमा भएको बताए । धरानको लागि कांग्रेसले बिपि प्रतिष्ठान, बिद्यालय, क्यापस जस्ता क्षेत्रहरु उपहार दिएको तर कम्युनिष्टले अहिलेसम्म केही नदिएको उनको भनाई थियो ।