इटहरी: निर्माणाधिन ६ लेन सडक विस्तारमा मनपरी मापदण्ड रहेको भन्दै युवाहरुले आवाज उठाएपछि इटहरी उपमहानगरपालिकाले सडक विभागसँग सम्पूर्ण कागजात माग गरेको छ ।

आईतबार मदन चुडालको नेतृत्वमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाउँदै तरहरा र इटहरीमा बराबर सडक हुनुपर्ने माग गरेका थिए । सोमबार उपमहानगरपालिकाले सडक विभागलाई एक पत्र काटेर डिपिआर र ठेक्का सम्झौताको सम्पूर्ण कागजात माग गरेको हो । इटहरीका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले आयोजनालाई पत्राचार गर्दै ६ लेन सडक विस्तारको क्रममा इटहरीमा विवाद आएसँगै यसको सबै कागजात मागेको जानकारी दिए ।

६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर दाँया र बाँया कायम रहने गरी सर्भिस लेनसहितको व्यवस्था गर्न संघर्ष समितिले माग गरेको छ । सडक विभागले साढे ८२ फुट सडक निर्माण गर्ने भनिएको भएपनि इटहरीको मुख्य चौक आसपासमा ६५ फुट मात्र सडक चौडा गरिएको भन्दै संघर्ष समितिले यसको काम तत्काल रोक्नुपर्ने अथवा बराबर फुट बाटो हुनुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको थियो ।

सडकको बराबर फुट कायम नभए आँफूहरु आन्दोलनको तयारीका लाग्ने संघर्ष समितिका संयोजक चुडालले चेतावनी समेत दिदैँ आएका छन् । सोमबार इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम सहितको टोलीले ६ लेन सडकको अनुगमन समेत गरेका थिए ।