औजार : आजको औजार दैनिकमा “झापामा हात्ती रोक्न जथाभावी करेन्ट प्रयोग गर्दा ४० को मृत्यु” शीर्षकको समाचार छापिएको छ । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो । त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । करेन्ट लागेर तामाङको पनि घटनास्थलमै मृत्यु भएको थियो । माथिका दुई वटा घटना पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । जङ्गली हात्तीबाट जोगिन विच्छ्याइएको विद्युतीय तारमा परी झापामा यस अघि धेरैले ज्यान गुमाइसकेका छन् । मेचीनगर–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गङ्गा थपलियाको पनि गत साउनमा विद्युतीय धरापमा परी मृत्यु भयो । त्यस्तै अर्जुनधारा–४ दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू, मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर–१० का ७१ वर्षीय डम्वरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाए । गत असारमा रणकाली सामुदायिक वन हल्दिबारी–३ मा हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परेर तीन वटा हात्ती मरेका थिए । यसअघि पनि विद्युतीय तारमा परी झापा र इलामको सिमानामा पर्ने इरौँटार–८ मा एउटा पोथी हात्ती मरेको थियो । झापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “यौनजन्य गतिविधि गराएको आरोपमा ९ पक्राउ” शीर्षकको समाचार छापिएको छ । उदयपुरका एक होटल व्यवसायीले यौनजन्य क्रियाकलाप गराएको आरोपमा होटल सञ्चालकसहित ९ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ का एस के पेट्रोल पम्पपछाडि सुष्मा राईले सञ्चालन गर्दै आएको होटलबाट ३ महिला र ५ जना पुरुष पक्राउ परेका हुन् । त्रिनपा १० निबासी राईले सञ्चालन गर्दै आएको होटलमा हो हल्ला र यौनजन्य क्रियाकलाप भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरु र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यौनजन्य क्रियाकलापमा संलग्न ३ महिला र ६ पुरुषसहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।