धरान: मंसिर १४ को निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई अहिले घरदैलोमार्फत मतदाताहरु भेट्न भ्याई नभ्याई छ । सोही क्रममा मंगलबार बिहान नेकपाले वडा नं १८ मा घरदैलो गरेको थियो ।

वडा नं १८ नेकपाका उम्मेदवार प्रकाश राईको घर भएको वडा हो भने त्यही वडामा कांग्रेस उम्मेदवार तिलक राईको पनि घर छ । एकै वडाबासी नेकपा र कांग्रेस उम्मेदवार मंसिर १४ को मेयर पदमा आमनेसामने छन् । मंगलबार बिहान घरदैलो गर्दै नेकपाका उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवारको बुद्धचोकस्थित घरमा पुगे । त्यतिबेला कांग्रेस उम्मेद्वार राई भने वडा नं १६ मा ब्यस्त थिए ।

कांग्रेस उम्मेदवार राईको घरमा नेकपाको घरदैलो टोली पुगेलगत्तै बाहिर निस्किइन्, श्रीमती रिमा चाम्लिङ । उनले नेकपाका मेयर पदका उम्मेदवार प्रकाश राईलाई टिका र खादा परिराइदिएर शुभकामना पनि दिइन् । वडा नं १८ का वडा अध्यक्ष तथा कांग्रेस युवा नेता प्रविण राईसँग नेकपा उम्मेदवार राईको बुद्धचोकमै भेट भयो । उनले पनि अंकमाल गरेर उम्मेदवार राईलाई शुभकामना दिएका थिए । त्यति मात्र होइन, वडाअध्यक्षको रत्नचोकस्थित घरमा नेकपाको घरदैलो पुग्दा अध्यक्ष राईकी पत्नी सविनाले पनि नेकपा उम्मेदवारलाई टिका, माला लगाइदिएर जितको शुभकामना दिएकी थिइन् ।

prabin-raiko-srimati-(1)