धरान: नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सहसंयोजक मुरारी सुवेदीले कार्यविधि आउने वित्तिकै सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताएका छन् ।

मंगलबार धरान–३ शान्तिपथमा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै नेता सुवेदीले धरान उपमहानगरपालिकाले सुकुम्बासीको लगत उठाइसकेको र संघिय सरकारले भूमिसुधार ऐन पनि ल्याइसकेको बताए । साथै उनले कार्यविधि आउने वित्तिकै धरानका सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने बताए । उनले धेरै काम सम्पन्न भएको तर कार्यविधि पारित नभएको अवस्थाले गर्दा मात्रै धनीपूर्जा वितरण रोकिएको बताए । उनले लामो प्रकृयाका सबै काम सम्पन्न भइसकेको भन्दै अब छिट्टै कार्यविधि आउने र सुकुम्बासीले धनीपूर्जा पाउनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता सुवेदीले धरानको खानेपानीको सम्पत्ति हस्तान्तरण गर्ने काममा कांग्रेसले भाजो हालेकोले केही लम्बिएको बताए । खानेपानीको योजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा संस्थानले खानेपानी वितरण गर्दै आएको पाइपलाइनमा पानी जोड्न नपाएकोले घर घरमा पु¥याउन नसकेको बताए । उनले वडा नं. १७ र १५ मा जोडेर खानेपानी वितरण समेत भइसकेको भन्दै अन्य वडामा संस्थाका हाकिमले अड्काइराखेको आरोप लगाए ।