इटहरी: भारतले नेपाली भुमी समेटेर प्रकाशित गरेको राजनीतिक नक्साको कारण अहिले सिमा विवाद चर्किरहेका छ । यही समयमा सुनसरीका सीमा स्तम्भको बारेपनि सशस्त्र प्रहरीले खोजीमा चासो देखाएको छ ।

अहिले सुनसरी र भारतबीच रहेको भण्टाबारी नाकामा पनि हराएका सीमा स्तम्भ सशस्त्र प्रहरीले खोज्न सुरुवात गरेको हो । यहाँको कोशी गाउँपालिका क्षेत्रमा मात्र ४९ वटा सीमा स्तम्भ रहेको भएपनि अहिले २६ वटा स्तम्भ मात्र सुरक्षित रहेको शशस्त्र प्रहरी बल भण्टाबारीका इन्सपेक्टर प्रेमसिंह बिष्टले जानकारी दिए । उनले टेलिफोन सम्पर्कमा भने, ‘२३ वटा सीमा स्तम्भ हराएका छन्, हामी गस्तीमा रहेका छौँ ।’

भारतीय एसएसबी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सीमा स्तम्भको अवस्थाको बारेमा अनुगमन गर्दा भारतले सीमा स्तम्भ मिचेको नभई अन्य अवस्थामै स्तम्भ हराएको उनले टेलिफोन सम्पर्कमा जानकारी दिए । उनले भने,‘हामीले केहीदिन अगाडिबाट फलोअप गर्दा भारतले अतिक्रमण गरेको नभई विभिन्न समयमा आएको बाढीका कारण सीमा स्तम्भ हराएको पाईयो ।’ सुनसरीको कोशी गाउँपालिकामा पर्ने ४९ वटा सीमाको सुरक्षा गर्ने जिम्मा शशस्त्र प्रहरी बल भण्टाबारीको रहेको बुझिएको छ ।

भण्टाबारी नाकाबाट दैनिकजसो भारी मात्रामा लागूऔषध ओसार पसार हुने भएकाले यहाँ भारतीय प्रहरीसँग सहकार्य गरी यसको नियन्त्रणमा आँफूहरु रहेकाले सीमा स्तम्भको पनि रेखदेख हुने बिष्टले जानकारी दिए । नेपाल–भारत सिमाना सुनसरीमा रहेका २ सय ९० सीमास्तम्भमध्ये अधिकांश जीर्ण अवस्थामा रहेका छन् । जसमध्ये सुनसरीको दक्षिणवर्ती क्षेत्रका कोशी गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रका सीमा स्तम्भ जीर्ण अवस्थामा रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा सुनसरीका एसपी कृष्ण ढकालले जानकारी दिए । उनले भने, ‘यहाँका अधिकांश सीमा स्तम्भ सप्तकोशीमा आएको बाढीमा बालुवाका कारण पुरिएको र अन्य स्तम्भ हराएको पाईएको छ ।’

सीमा क्षेत्रमा फोहोरको थुप्रो

यसैबीच सीमा क्षेत्रमा भारतीय मानिसहरुले फोहोर फ्याल्ने गरेको समेत खुलेको छ । भारत राज्यले दसगजा मिचेर बनाएको स्वागत नजिकै फोहोर थुपार्ने गरेको स्थानीयको गुनासो रहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत व्यस्त रहने सडक किनार नजिकै दसगजा नै मिचेर बनाएको स्वागत गेट नजिकै फोहोरको थुप्रो फ्याल्नाले दुर्गन्ध बढेको सीमा नजिकै रहेका स्थानीय मानिसहरुको गुनासो व्याप्त रहेको छ । दसगजा क्षेत्रमा रहेको भारतीय प्रहरीले पनि स्थानीय मानिसहरुलाई दुःख दिने गरेको स्थानीयको गुनासो रहेको छ ।

उक्त नाकामा भारतले दशगजा मिचेर बनाएको गेट हटाउन नसक्नु त अलक कुरा हो । सो गेटबाट यहाँ भारतीय प्रहरीले नेपाल आएर दुःख समेत दिने गरेको स्थानीयको गुनासो गरेपनि सरकारी संयन्त्रले चासो देखाएको छैन । त्यसो त दसगजा क्षेत्रमा भारतले बस्ती समेत बसालेको स्थानीय सर्वसाधारण मानिसहरुको गुनासो रहेको छ । त्यसो हुँदा यहाँका स्थानीय मानिसहरुको चौपाया समेत हराउँने गरेको स्थानीयले पटक–पटक गुनासो गर्दै आएका छन् ।