धरान: नेकपाका नेता चोत्लुङले खानेपानी संस्थानको सम्पत्ति हस्तान्तरण गर्नबाट नेपाली कांग्रेसले रोक लगाएर धराने जनतालाई काकाकुल बनाउन खोजेको आरोप लगाएका छन् ।

उनले मंगलबार धरान १८ स्थित बुद्धचोकमा नेकपाको घरदैलो अभियानको क्रममा कोणसभालाई सम्बोधन गर्दै कांग्रेस आफैले हस्ताक्षर गरेर ल्याएको खानेपानी आयोजनालाई अहिले कार्यान्वयनको चरणमा आएर असफल बनाउन लागिपरेको आरोप लगाएका हुन् । उनले केही महिनाअघि संस्थानको सञ्चालक समिति सदस्य धरान आएको बेला धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्न नहुने भन्दै कांग्रेसले दबाब दिएको थियो । सोही घटना स्मरण गराउदै नेता चोत्लुङले खानेपानी आयोजना पुरा हुने चरणमा आएर कांग्रेसले अवरोध गर्न खोजेको बताएका हुन् ।

‘खानेपानी संस्थान हस्तान्तरण प्रक्रियामा आइसक्यो, अहिले धमाधम इन्टरकनेक्सनको काम हुदैछ, र चाडै पुरा हुदैछ,’कोणसभामा चोत्लुङले भने,‘त्यो आयोजना हिजो कांग्रेससहित सबै दलको सहमति र हस्ताक्षरमा ल्याइएको हो, अब संस्थानलाई बोर्ड मातहत ल्यादैछ, हिजो धरानको सम्पत्ति थियो, अब धरानकै सम्पत्ति हुदैछ, तर कांग्रेसले किन हस्तान्तण गर्न हुदैन भनेको ? जनता स्पष्ट जवाफ चाहन्छ ।’

उनले नगरपालिकाले नै चलाएको खानेपानीलाई २०३६ सालमा सरकारले संस्थान बनाएर लगेको र अब पुनः धराने जनताको मातहतमा ल्याउने प्रक्रियामा कांग्रेसले अवरोध गर्न खोजेको बताए । ‘आउदो माग फागुनमा पानीको समस्या हुन्छ, त्यो भन्दा अगाडि समस्या हल गर्न धमाधम इन्टरकनेक्सन काम गर्नुपर्ने हुन्छ । सम्पत्ति हस्तान्तरण नगर भनेर के नेपाली कांग्रेस धराने जनतालाई काकाकुल बनाउन चाहन्छ ?,’उनले भने,‘विपक्षी साथीहरुले वडा नं १७ मा गएर, वडा नं १५ मा गएर खानेपानी आयोजना असफल भयो भनेर भन्न सक्नुहुन्छ ? त्यहाँ त जनताले पानी पाइराखेकय छन्, अहिले जहाँ अभाव छ, त्यहाँ मात्र गएर भन्दै हुनुहुन्छ । इमान्दारिता छ भने तपाईहरुले अरु वडामा पनि गएर भन्दिनु पर्यो, १५ र १७ वडामा चै आयोजनाले वितरण गरेको पानी आउदैछ है, यहाँ मात्र नआएको हो । अब चाडै आउछ ।’

नेता चोत्लुङले धरान चतरा बाटोमा पर्ने ठकुरी खोला, सर्दु खोलामा पुल बनिसकेको र धरानको आसपासमा अन्य थुप्रै पुलहरु पनि निर्माणाधिन अवस्थामा रहेकोले नेकपा नेतृत्वमा केही भएन भन्नु गलत भएको बताए । उनले पानवारीमा अधेरी खोलामा पुल बन्दै गरेको बताए । यस्तै, देवीमार्गमा ठेक्का लागिसक्केको, विष्णुपादुका जाने तल्लो बाटोमा पनि पुल बन्दै गरेको उनले बताए । ‘हिजो त्यही सर्दु खोलाले बगाउने अवस्था थियो, अबको २ बर्षपछि त्यो खोलाले कसैलाई बगाउने छैन । विष्णुपादुकामा आफ्नो पितृको श्राद्ध गर्न आउदा खोलाले अवरोध गर्नेछैन,’उनले भने,‘विष्णुपादुका जाने बाटो र दानाबारी कन्यापोखरी जाने बाटो बहुबर्षिय ठेक्का लागिसक्यो ।’

बाटो बनाउदा उडेको धुलोलाई कांग्रेसले चुनावी मुद्दा बनायो

नेता चोत्लुङले प्रत्येक वडामा बाटो बनिरहेको र बाटो बनाउदा उडेको धुलोलाई पनि कांग्रेसले चुनावी मुद्दा बनाएको भन्दै कटाक्ष गरे । उनले विकास निर्माणको काम बुझेर मात्र चुनावी एजेण्डा बनाउन विपक्षीलाई आग्रह गरे । ‘अहिले बुद्धचोकदेखि बीपी गेट जाने बाटोमा पनि धुलो उड्दैछ, किनभने यहाँ पिच बन्दैछ । पिच बनाउनलाई धुलो उड्छ पक्कै पनि,’उनले भने,‘तर विपक्षीहरुले त्यसलाई पनि चुनावी एजेण्डा बनाए ।’
तीनकुनेदेखि शिवधारासम्मको खाल्डाखुल्डीलाई पनि चुनावी मुद्दा बनाएको भन्दै उनले पहिला भेडेटार जाने बाटोको हालत सम्झाउदै जंगल क्षेत्रमा पिच भइसकेको र बजारमा बाँकी रहेको बताए । उनले भने,‘सडक डिभिजनको हाकिमलाई फोन गरेर सोध्दा हुन्छ । त्यहाँ सडक डिभिजनले ठेक्का लगाइसकेको छ, यही आर्थिक बर्षमा पिच हुद्यैछ । खाडल होइन, नयाँ पिच हुदैछ ।’

विपक्षीहरुले जमिनबाट नगरको बजेट निकालेर चलाउछन् ?

नेता चोत्लुङले कर प्रणालीको बिषयमा पनि विपक्षीले चुनावी मुद्दा बनाएको बिषयमा कडा टिप्पणी गरेका छन् । विगतमा पनि राजनीतिक दलहरुले निर्णय गर्दा एकीकृत सम्पत्ति करमा समस्या भएर आन्दोलन चर्किएको स्मरण गराउदै कांग्रेसलगायत विपक्षीहरुले प्रचार गरेजस्तो निवार्चित भएपछि कर नै नउठाईकन सबै निःशुल्क गरेर नगर सरकार कसरी चलाउछन् भन्दै प्रश्त गरे । ‘कर प्रणालीलाई व्यवस्थापन गर्न केही तलमाथि भएको हुनसक्छ । तर कर नै नउठाइकन सबै निःशुल्क गरेर के भोली नेपाली कांग्रेसलगायत विपक्षी दलका साथीहरु धरानको प्रमुख निवार्चित भएपछि जमिनबाट नगरको बजेट निकालेर चलाउनुहुन्छ ? वा आकाशबाट फल्छ पैसा ? नगर सरकारको विकासको प्रगति यो हो त ?’उनले भने ।

कांग्रेसले परिवर्तनको नारा लगाइरहे पनि त्यो नारा हुटिट्याउले संसार थाम्ने सपना देख्नु सरह मात्र हुने बताए । उनले ३० जनाको नगर कार्यपालिकामा २३ जना नेकपाको सदस्य भएको र १ सय २ जनाको नगर सभामा ७५ जना नेकपा भएकोले कांग्रेसलगायत अन्य दलबाट १ जना निवार्चित हुदैमा योजना र बजेट बनाउन नसक्ने बताए । ‘परिवर्तन गर्ने त खोक्रो नारा मात्र हो, एक जना निवार्चित एर हुदैन, त्यहाँ गएर पनि नेकपाले नै योजना बनाएर पास गर्ने हो, नेकपाले नै बजेट बनाउने हो । नेकपाले जे बोल्छ, त्यहाँ गएर कार्यपालिकाबाट पास गर्छ, नगरसभाबाट पास गर्छ, बनाएर छोड्छ,’उनले भने,‘ तर नेपाली कांग्रेस, समाजवादी पार्टीका साथीहरुले पास गर्न सक्नुहुन्छ ? कति अंक सदस्य छ तपाईहरुको ?’