धरान: धरानमा मंसिर १४ गते हुन लागेकोे उपनिर्वाचनका उम्मेदवारहरु अहिले मतदाताको घरदैलोमा पुगेर मत माग्नमा व्यस्त छन् । यही क्रममा नेपाल पत्रकार महासंघले बुधबार धरानमा मेयर पदका उमेद्वारहरुसँग संवाद कार्यक्रम आयोजना गर्यो ।

दिलभुषण पाठकले सहजीकरण गरेको उक्त संवाद कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का तर्फबाट उम्मेद्वार प्रकाश राई, नेपाली कांग्रेसबाट उम्मेदवार तिलक राई, समाजबादी पार्टीका उम्मेदवार गजेन्द्र इस्वो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका उम्मेदवार अमर इजम लिम्बु सहभागी भएका थिए ।

शिक्षा, स्वास्थ्य, खानेपानीमा कुनै कसुर राख्दिनः नेकपा उम्मेदवार

नेकपाका उम्मेदवार प्रकाश राईले धरानको शिक्षा, स्वास्थ्य, खानेपानी तथा विकास निर्माणका कुरामा कुनै पनि कसुर बाँकी नराखी काम गर्ने बताए । उनले संवादमा भने, ‘शिक्षा क्षेत्र सर्वसुलभ हुनुपर्छ भन्ने हाम्रो कुरा हो, यहाँका सामाजिक सवालका बिषयमा पनि हामीले आवाज उठाउँदै आएका छौं ।’ उनले भौतिक विकास देखिने कुरा भएको तर्क गर्दै मानवीय विकासमा पनि जोडदिनुपर्ने बताए । त्यसको लागि पैसा आवश्यक नपर्ने उनको तर्क थियो ।

Prakaash-rai-

राईले समग्र धरानको विकासका लागि आँफूले कुनै पनि कसुर बाँकी नराख्ने बताए । खानेपानी आयोजनाको समस्या रहे पनि त्यसलाई चाडै समाधान गरेर वितरण गर्ने पनि उनले बताए । ‘हामीले धरानको आर्थिक उपार्जनका लागि औद्योगिक ग्रामका रुपमा एजेन्डा अगाडि सारेका छौँ,’उनले भने,‘खेलकुद ग्राम, स्वास्थ्य, पर्यटनका कुरालाई पनि अगाडि सारेका छौँ ।’ उनले धरानको विकासका लागि आँफूहरुले आर्थिक विकासको कुरालाई मुख्य प्राथमिकतामा राखेको बताए । स्वर्गीय तारा सुब्बाले अगाडि सारेको एजेन्डालाई पूरा गर्न पनि अाँफू लागि परेको उनको तर्क थियो ।

नेतृत्वदायी भुमिकाः कांग्रेस उम्मेदवार

Tilak-Rai- 4

नेपाली कांग्रेसबाट मेयरका उमेद्वार तिलक राईले धरानलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि आफू लागि पर्ने बताए । उनले भने,‘धरानलाई आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक रुपमा अगाडि बढाउँन आवश्यक छ, यहाँ नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको छैन ।’ उपमहानगरमा बेथिति र भ्रष्टचार बढेको भन्दै उनले आफुले जितेपछि त्यसलाई रोक्ने बताए ।

उनले धरानमा धार्मिक, पर्यटन, स्वास्थ्य, शिक्षा, खेलकुदका क्षेत्रमा आँफूले महत्वपूर्ण योगदान पुर्याउने तर्क गरे । ‘यहाँ बसपार्क शिलान्यासमा सीमित भएको छ, खानेपानी आयोजना पनि अलपत्र अवस्थामा छ, यहाँ बिमानस्थल पनि अलपत्र छ, यी कामहरुलाई किनार लगाउँनका लागि पनि मेरो उम्मेदवारी हो,’राईले भने,‘भौतिक विकास त देखिने कुरा हो, हामीले अब सामाजिक र सांस्कृतिक विकास गर्न जरुरी छ ।’
उनले निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रलाई अाँँफूले प्राथमिकता राखेको बताए । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले पनि बिरामीका लागि बेड खाली नहुने समस्या ज्यूँ को त्यूँ रहेको उदृत गर्दै उनले भने, ‘यहाँका समस्याको समाधानका लागि मात्र नभएर स्वास्थ्यमा प्रभावकारी ढंगले काम गर्ने वातावरण सृजना गर्नका लागि पनि धरानमा मेरो आवश्यक छ ।’

उनले कम्युनिष्टहरुले धरानको सुकुम्बासीलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको आरोप समेत लगाए । उनले भने,‘जब निर्वाचन हुन्छ, त्यो बेला सुकुम्बासीको मुद्दा आउँछ, अहिलेका जनप्रतिनिधिले सुकुम्बासीको समस्याका लागि के गरेको छ ?’ उनले यहाँका सुकुम्बासीलाई घर नम्बर दिएुर सरकार पन्छिन खोजेको बताउँदै यसलाई सबैले मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । ‘सुकुम्बासीको समस्या नेपाली कांग्रेस र नेकपाको मात्र हैन, सबैको समस्या हो, यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ,’उनले भने,‘अबका हरेक कार्यक्रममा सुकुम्बासीलाई समेट्नुपर्छ, रोजगारीको अवसर सृजना गर्नुपर्छ ।’ उनले सुकुम्बासीलाई ढाटमा पैसा उठाउन मात्र प्रयोग गरिएको बताउँदै भने, ‘अहिले विभिन्न पार्टीले सुकुम्बासीलाई ठेक्का पट्टामा भिडाईँरहेको छ, अब उनीहरुका लागि रोजगारीमुखी बनाउन पर्यो, सृजनात्मक काम गर्नुपर्यो ।’

युवाहरुलाई रोजगारी: इस्वो

gagendra-isbo-

समाजबादी पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका गजेन्द्र इस्वोले अहिले धरानमा युवाहरु बेरोजगार रहेको बताउँदै उनीहरुलाई रोजगारीको अवसर सृजना गर्ने बताए । ‘हामीले धरानको आर्थिक विकासका लागि तुरुन्त आर्थिक अवस्था सुधार गर्नुपर्छ,’ इस्वोले भने, ‘पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुदका क्षेत्रमा युवाहरुलाई प्रोत्साहन दिनुपर्छ ।’

उनले यहाँ रहेका हरेक क्षेत्रलाई समेटेर जानुको विकल्प नरहेको तर्क गरे । उनले युवाहरुले परिवर्तन चाहने र त्यसका लागि आँफूले काम गर्ने कुरामा जोड दिए । उनले भने, ‘धराने जनतालाई हामीले नयाँ हिसाबमा विकास गर्न सक्छौँ ।’

धरानलाई राजधानी बनाउछुँ:इजम

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका मेयर उम्मेदवार अमर इजमले आँफू धरानको मेयर बनेमा कुनै पनि हालतमा धरानलाई प्रदेश १ को राजधानी बनाउने ठोकुवा गरे । उनले भने,‘सुकुम्बासीलाई नक्सा दिनका लागि सरकारले कन्जुस्याईँ गरेको छ, अब सुकुम्बासीलाई घर नम्बर मात्र दिएर हुँदैन, धनीपूर्जा पनि दिनुपर्छ ।’

Amar-ijam-

उनले आँफूले मेयर पदमा बिजयी भएको खण्डमा निजी र सरकारी विद्यालयमा समान शिक्षा प्रणाली लागू गर्ने दाबी गर्दै भने,‘निजी र सरकारी विद्यालयको गुणस्तरमा हामी समान शिक्षा प्रणाली लागू गछौं, जसले गर्दा भोलिका दिनमा शिक्षामा सबैको पहुँच पुगोस् ।’ उनले आँफूले ठूला कुरा नभई स्थानीय स्तरका कुरालाई प्राथमिकतामा राखेको तर्क गर्दै जनगुनासोलाई चिर्नेमा विश्वास दिलाए । ‘राज्यको विकास ठूला घोषणा पत्रले हुँदैन,’ उनले भने,‘जनगुनासोलाई चिन्ने भनेको ईमान्दारीताले हो, म ईमान्दारी भएर काम गर्छु ।’

सेयरकास्टले धरानमा गरेको सर्वेक्षण अनुसार अहिले ३९ प्रतिशत बेरोजगारी समस्या, २२ प्रतिशत सडक मर्मत नहुँदाको समस्या, १६ प्रतिशत गरीबीको समस्या, १५ प्रतिशत खानेपानीको अभाव र ८ प्रतिशत खानेपानीको पहुँचसम्मै पुग्न नसकिरहेको एक अध्ययनले देखाएको छ । अब धरानको आगामी नेतृत्वले यी समस्याको समाधान गर्ला त ? हेर्न भने बाँकी छ ।