धरान: ललित–अम्बर डिपो कप प्रतियोगिताको १६ औं संस्करण मंसिर ६ गतेदेखी शुरु हुने भएको छ ।

डिपो उच्च माविले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता मंसिर १३ गतेसम्म हुने जानकारी दिएको छ । धरान–१८ स्थित डिपो माविको खेल मैदानमा हुने प्रतियोगितामा आयोजकसहित धरानका निजी विद्यालयका १३ वटा टिमको सहभागीता रहने विद्यालयका प्रअ राजकुमार राईले बताए । उनका अनुसार प्रतियोगितामा कक्षा ५ सम्मका र १२ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने छन् ।

यस पटकदेखी प्रतियोगितामा धरानबाहिरका निजी विद्यालयहरुलाई सहभागी नगराइने कार्यक्रम संयोजक भिमराज राईले बताए । ‘यसपटक देखी हामीले धरान बाहिरका टिमलाई सहभागी गराएका छैनौं’ संयोजक लिम्बुले भने ‘टिम ढिलो आउने र रुल्सलाई फलो गरिएन भन्ने विभिन्न गुनासो आउन थाल्यो त्यसैले टाइममा खेल्ने टाइममा सक्ने भनेर हामीले अबदेखी धरानभित्रका निजी विद्यालयलाई मात्र सहभागी गराउने निर्णय गरेका हौं ।’

प्रतियोगिताको विजेताले नगद १० हजार रुपैयाँसहित रनिङ शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको दोस्रोले नगद ५ हजार र तेस्रोले नगद ३ हजार रुपैयाँसहित शिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी, प्रतियोगितामा पहिलो खेलबाट बाहिरिने टिमहरुबीच पुनः ‘दिलकुमार प्लेट च्याम्पियन कप–२०७६’मा प्रतिस्पर्धा गराइने संयोजक लिम्बुले बताए । प्लेट च्याम्पियनको विजेताले नगद ३ हजार रुपैयाँसहित रनिङ शिल्ड प्राप्त गर्ने छ भने प्लेट रनर अपले नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

१५ औं संस्करणको विजेता महेन्द्र मेमोरियल बोर्डिङ स्कुल दुहवी थियो । यसैगरी, प्लेट च्याम्पियन आयोजक डिपो मावि बनेको थियो । विद्यार्थीको पढाइसंगै अतिरिक्त विद्यार्थीको खेलकुदको विकासको लागि प्रतियोगिता गराउदै आएको संयोजक लिम्बुले बताए ।

तस्बिर स्रोत: शिशिर राई