इटहरी: तरहरामा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

बुधबारबाट तरहराको पूर्वाञ्चल बोर्डिङ स्कुलमा खेलको सुरुवात भएको हो । युनाइटेड प्राइभेट स्कुल (युपियस) इटहरीले आयोजना गरेको प्रतियोगितामा इटहरी १, २, १९ र २० नम्बर वडाका १२ वटा विद्यालयका विद्यार्थी सहभागी भएको कार्यक्रम संयोजक सौधन राईले जानकारी दिए। इटहरी उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठको प्रमुख आतिथ्यतामा खेलको सुरुवात भएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले खेल क्षेत्रले बिद्यार्थीमा सकारात्मक परिवर्तन हुने बताए । अतिरिक्त क्रियाकलापमा भलिबल क्षेत्रलाई प्राथमिकता दिनु सराहनीय रहेको उनको भनाई रहेको थियो । कार्यक्रममा टीकादत्त बन, भोलाकाजी बस्नेत लगायतले बोलेका थिए । युपियसका सचिव सन्तोष कटवालले छात्रको ११ वटा टिम र छात्राको ८ वटा टिम खेलमा सहभागी भएका छन् । जसमध्ये उद्घाटन खेलमा छात्रतर्फ ज्ञानदर्पण एकेडेमी र पूर्वाञ्चलबीच खेल भएको थियो । उक्त खेलमा ज्ञानदर्पणले पूर्वाञ्चललाई हरायो ।

हिमशिखर र शान्तिनगर बीच हुँदा हिमशिखर बिजयी भएको थियो भने प्याराडाइज र ब्राइट फ्युचर बीच खेल भयो । उक्त खेलमा प्याराडाइज बिजयी भएको थियो । त्यस्तै, छात्रातर्फको खेलमा पूर्वाञ्चल र महर्षी स्कुल बीच भएको थियो । जसमध्ये पूर्वाञ्चल बिजयी भयो भने प्याराडाइज र तरहरा मोडेल बीच भएको खेलमा मोडेल बिजयी भएको थियो । खेलको बिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने संस्थाका अध्यक्ष रमेशबहादुर कार्कीले जानकारी दिए ।