धरान: धरानका नवनिवार्चित मेयर तिलक राईले स्थानीयतहमा सत्ता र प्रतिपक्ष नहुने भएकोले सबैसँग मिलेर काम गर्ने बताएका छन् ।

मेयरमा विजयी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले सबै जनप्रतिनिधिसँग मिलेर नै धरानको विकास र समृद्धिको लागि काम गर्ने बताएका हुन् । धरानका जनताले मत दिएर आफुलाई जिताएको भन्दै उनले आफुले कांग्रेसको मतले मात्र नजितेको बताए । ‘मलाई धरानका जनताले जिताउनु भएको हो, यो जनताको जित हो । मैले कांग्रेसको मतले मात्र जितेको होइन,’उनले भने,‘सबै दल र जनप्रतिनिधिसँग मिलेर नै काम गर्छु ।’

धरानको कार्यपालिकामा नेकपाको दुई तिहाई बहुमत छ । कांग्रेसको मेयर र ५ जना वडा अध्यक्ष हुनेछन् भने नेकपाको उपमेयरसहित २४ जना हुनेछन् । उनले जनताको अभिलाषालाई सबैले मिलेर पुरा गर्ने बताए । धरानमा भएको विकृति, विसंगति रोक्ने र पारदर्शी भएर काम गर्ने बताए । ‘म आफु भ्रष्टचार गर्दिन,अरुलाई पनि गर्न दिन्न । शुन्यसहनसिलतामा काम गर्छु । विगतको भ्रष्टचारमा तुरुन्त एक्सनमा जान्छु, भएको कमीकमजोरीहरुलाई सुधार्छु,’उनले भने । उनले मेयरको तलब, भत्ता आफुले उपभोग नगर्ने र सामाजिक काममा खर्चिने प्रतिवद्धता पुनः दोहोर्याए ।