धरान: धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् ।

उनले साढे १२ बजे साइतमा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् । उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण गराएका थिए । त्यसअघि मेयर राईले धरान १६, गणेशमान चोकस्थित लौहपुरुष गणेशमानको सालिकमा माल्र्यापण गरेका थिए भने धरान १९, हरियाली वन समुह परिसरमा स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा पनि माल्र्यापण गरेका थिए ।

tilak

पदभार ग्रहणसँगै मेयर राईले राजश्वका दरहरुप्रति जन गुनासोलाई सम्बोधन गर्न अध्ययन गरी सुझाव पेश गर्नको लागि बिशेषज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेका छन् । यसअघि, पाँचौ नगरसभाले पारित गरेर लागु गरेको आर्थिक ऐन २०७६ को केही राजश्वका दरहरुप्रति व्यापक गुनासो र अस्पष्ट देखिएकोले कर निर्धारण प्रक्रिया र दररेट अध्ययन गरी सुझाव दिनको लागि बिशेषज्ञ रहेको कार्यदल गठन गरिने मेयर राईले बताए । ‘करलाई व्यवहारिक र वैज्ञानिक बनाउने निर्णय भएको छ, यसमा सहयात्री राजनीतिक दलले पनि विश्वास दिएको छ, उहाँहरुले हिजै विज्ञप्ती निकालेर नगरपालिकालाई प्रोत्साहन गर्नुभएको छ,’मेयर राईले भने,‘राजनीतिक दल र नगरबासीहरुको भावना अनुसार कर पुनरावलोकन गरेर कार्यान्वयन गर्न चाहन्छँु ।’

tilak4

मेयर राईले उपमहानगरमा आउने सबै मुद्दा एवं एजेण्डाहरु व्यक्तिगत र पार्टी बिषेशको नभै समग्र नगरबासी र नगरको हितमा हुने पनि बताए । उनले यसअघि कार्यपालिका बोर्डले नगरबासी र नगरको हितमा अगाडि बढाएको योजनाहरु विना हिच्किचावट आफुले पनि अगाडि बढाउने बताए । साथै, अन्य बिषयहरुमा छलफलको माध्यमबाट निर्णय लिइने पनि उनको भनाई थियो । ‘म भर्खर आएँ, सिंगो टिमले अढाई बर्षको अनुभव संगालीसकेको छ, म त्यो टिमको नेतृत्व लिने गरी थपिएको छँु । पक्ष, प्रतिपक्ष भनेर नबुझिदिन आग्रह गर्न चाहन्छु । मेरो सहयोगीको रुपमा उपप्रमुख, कार्यपालिका बोर्ड, प्रमुख प्रशासकीय हुनुहुनेछ । सिंगो टिमले मिलेर काम गर्ने हो,’पत्रकारहरुसँग प्रतिक्रिया दिदै मेयर राईले भने,‘कर्मचारी साथीहरुलाई पनि विना हिच्किचाहट इमान्दारीता पुर्वक, सक्रियतापुर्वक काम गर्न आग्रह गर्न चाहन्छु । उहाँहरुबाट आज स्वागत पाएँ, यो उत्साह कार्यगत एकतामा र कार्यसम्पादनमा लगाउन आग्रह गर्न चाहन्छु ।’

tilak-con1

मेयर राईले उपमेयरले झण्डै डेढ बर्ष कार्यवाहक मेयरको जिम्मेवारी सम्हालेकोले सहयोगको अपेक्षा पनि व्यक्त गरे । ‘उहाँको कार्यअनुभव, कार्यदक्षता र क्षमता अनुसार नगरपालिकाले जिम्मेवारी, भुमिका दिनेछ, खुम्च्याउने छैन । वडाअध्यक्ष साथीहरुलाई हिजो जे अनुभव गर्नुभएको छ, त्यसलाई अझै परिष्कृत गरेर नगरबासीको हकहितमा लगाउनेछौं,’मेयर राईले भने,‘यो जित एक व्यक्ति, दलको मात्र होइन, सम्पुर्ण नगरबासी र दलहरुको जित भएकोले सबै दल, कार्यपालिका, कर्मचारीप्रशासन एक भएर काम गर्नेछौं ।’

tilak2 tilak12 tilak9 tilak8 tilak6 tilak10 tilak7