इटहरी: निर्माणाधिन ६ लेन सडक आयोजनाको आवश्यक कागजात माग गरेपनि नदिएपछि इटहरी उपमहानगरपालिकाले सडक विभागलाई पुनःपत्राचार गरेको छ ।

यसअघि मंसिर २ गते उपमहागनरले सडक विभागलाई पत्राचार गरेर डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात मागेको थियो । तर, विभागले अहिलेसम्म कुनै पनि कागजात दिएको छैन । ६ लेन सडक विस्तारको क्रममा इटहरी मुख्य चोक तथा बजार क्षेत्रमा विवाद सृर्जना भएपछि उपमहानगरले आयोजनासँग सम्बन्धित कागजात मागेको थियो । इटहरीका वरिष्ठ इन्जिनियर अर्जुन दाहालले सबै कागजात माग गरेको भएपनि अहिलेसम्म आयोजनाले कुनै जानकारी नगराएको बताए । उनले विभागलाई पुनः पत्राचार गरिएको जानकारी दिए ।

६ लेन सडक राजमार्ग ऐनले तोकेको सीमा केन्द्रबाट २५–२५ मिटर दाँया र बाँया कायम रहने गरी सर्भिस लेनसहितको व्यवस्था गर्न संघर्ष समितिले माग गर्दै आएको छ । संघर्ष समितिका संयोजक मदन चुडालका अनुसार यसअघि आँफूहरुले इटहरी उपमहानगरपालिका, सडक विभाग र मुख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण पत्र बुझाएको भएपनि कामप्रति कुनै चासो देखाईएको छैन । उपमहानगरपालिकालाई सडक विभागले नपत्याउनु लज्जास्पद रहेको उनले टिप्पणी गरे । इटहरीका युवाहरुले बजार क्षेत्रका हुनेखानेहरुको घरजग्गा जोगाउने गरी बाटो मापदण्ड विपरीत साँघुरो बनाएको र गरिब जनताको चै घरजग्गा भत्काएर विस्तार गरेको भन्दै आन्दोलन गरेका थिए ।