धरान: बिहिबारदेखि हुने भनिएको २२ आंै बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता तोकिएको मितिमा नहुने भएको छ ।

मंसिर १९ गतेदेखि २८ गतेसम्म आयोजना मिति तय भएको प्रतियोगिता उक्त मितिमा नहुने आयोजक धरान फुटबल क्लबले प्रष्ट पारेको छ । तर, अब कहिले हुन्छ ? यसको जवाफ स्वयम् आयोजकसँग पनि छैन । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक क्लबका अध्यक्ष किसोर राईले नेपालमा आयोजना भइरहेको १३ औं साग खेलकुदसँगै धरानको उपनिर्वाचन र सहिद स्मारक लिगको कारण तोकिएको मितिमा आयोजना गर्न नसकिएको बताए । उनले भने,‘साग खेलकुद भइरहेको छ । धरानमा मंसिर १४ को निर्वाचनले पनि सबै त्यसमा लाग्यौं, फेरि मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक लिग हुने भएको छ । त्यसैले मंसिर १९ गतेदेखि हुने भएको गोल्डकप पछि सार्नुपर्ने भयो ।’

अध्यक्ष राईले एन्फालाई पत्राचार गरेर अर्को खेलतालिका तय गरेर पठाइदिन आग्रह गरिएको पनि बताए । यही मंसिर २८ गतेदेखि फागुन ५ गतेसम्म सहिद स्मारक लिग हुने भएकोले अब फागुन ५ गते यता गोल्डकप आयोजना हुन नसक्ने पनि उनले बताए । ‘गोल्डकपको अर्को मिति चाडै पठाइदिनुस् भनेर एन्फालाई पत्र पठाएका छौं,’उनले भने ।