झापा :  झापाको दमकबाट सञ्चालीत बिभिन्न कोठे सहकारीहरुले सेवाग्राहीको बचत रकम कुम्ल्याएर भाग्ने गरेका घटनाहरु बाहिरिन थालेका छन् । सञ्चालक समितिको मनपरी, फितलो ब्यवस्थापन लगायतका बिभिन्न कारण दमकमा सहकारी संस्थाबाट पीडित बन्नेहरु मिडियाको सम्पर्कमा आउन थालेका छन् ।

झापाको दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था बिना सूचना बन्द भयो । बचतकर्ताको लाखौं रकम डुब्ने देखेपछि बचतकर्ताले सहकारी बिना सूचना बन्द भएको बारे सोधीखोजी सुरु गरेका छन् । केहि प्राबिधिक कारणले सो सहकारी बन्द भएको श्रोतले जानकारी गराएको छ । मेहेनत र दुःख गरेर बचाएको रकम सहकारीमा राख्दा समेत असुरक्षीत भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

यस्तै झापाकै दमक-६ मा रहेको नारायणी बचत तथा ऋण सहकारी संस्थाले घिमिरे मार्केट नजिक पुरीन्यूजकैको एक घरमा कार्यालय सञ्चालन गरी आएको र सो संस्थामा बचत गरेका बचतकर्ताहरुको लाखौं रुपैयाँ निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरु हार गुहार मागिरहेका छन् । सो सहकारीमा आफ्नो, आफ्नी श्रीमती र छोराछोरीका नाममा समेत करीब १३ लाख रुपैयाँ बचत गरेर त्रैमासिक रुपमा ब्याज रकम बुझ्दै आएका दमक–८ का टिका भट्टराईले पछिल्ला केहि दिनयता बचत रकम फिर्ता लिन खोजेपनि पाउन नसकेको बताएका छन् । उनले बचत रकम फिर्ता दिलाउने निकाय कुन हो र कसरी फिर्ता लिन सकिन्छ ? भन्ने बारेमा आफूलाई जानकारी नहुँदा दिनहुँ कार्यालय सम्म आउने गरेको बताए ।

सो सहकारीका करीब १५ जना पीडित बचतकर्ताहरु २ दिन अघि दमक नगरपालिकाको सहकारी शाखामा गएर आफ्नो समस्या सहकारी शाखाका प्रमुख इच्छाराम चौलागाइँसंग राखेपछि उनले नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर समस्या राख्न सुझाव दिएका थिए । तर पीडितहरुले नगर प्रमुख रोमनाथ ओली काम विशेषका कारण विराटनगर गएको र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा उनलाई भेट्न नसकेको गुनासो गरेका छन् ।

यस्तै विराटनगरमा केन्द्रिय कार्यालय रही दमकमा कारोबार गर्दै आएको तुलसी बहुमुखी सहकारीको मुद्दति खातामा राखिएको एक जना सर्वसाधारणको नगद ५ लाख रुपैयाँ बचत रकम फिर्ता हुन सकेको छैन । सो सहकारीमा ३ बर्षे मुद्दती खातामा दमकको तत्कालिन वडा नं ६ का विर बहादुर श्रेष्ठले आफ्ना नाती सुभान ताम्राकारको नाममा रकम जम्मा गरेका थिए । २०७३ असोज २ गते जम्मा गरिएको सो रकमको १३.०२ प्रतिशतका दरले हुन आउने ब्याजसहित २०७६ असोज २ गते फिर्ता पाउनुपर्नेमा मुद्दती खाताको अवधी लगभग ८० दिन पार गरेपनि फिर्ता पाउन नसकेको पीडित श्रेष्ठले बताए ।

Sahakari-Pidit

वित्तिय कानुनहरुका बारेमा आफू जानकार रहेको बताउँदै अवधी पूरा भएपछि सहकारीले सम्बन्धित खातावालसंग सम्पर्क गरेर जानकारी गराउनु पर्नेमा दुई महिना पछि जाँदा पनि रकम फिर्ता नदिई पुनः ब्याजको प्रलोभन देखाएर फर्काएको उनको गुनासो छ । ब्याजदर बढाएर पैसा फिर्ता दिने सो सहकारीका कर्मचारीको आश्वासननै गलत भएकाले सञ्चार क्षेत्रबाट यस बिषयमा सबैलाई सचेत गराउन आवश्यक ठानेको पनि उनले बताएका छन् ।

नियमित रुपमा सञ्चालन हुँदै आएका संस्थाहरुले बार्षिक रुपमा हरेक आर्थिक बर्षको ६ महिना भित्र अनिवार्य रुपमा बार्षिक साधारण सभा गरी , साधारण सभाको निर्णय पुस्तिकाको एकप्रति नगरपालिकाको सहकारी शाखामा बुझाउनु पर्ने, लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने, मासिक रुपमा वित्तिय कारोबारको विवरण बुझाउनु पर्ने र चुनावी साधारण सभा भए निर्वाचित समितिको नामावली पेश गर्नुपर्ने लगायतका व्यवस्था भएपनि दमकमा सञ्चालित नगरको नियमन तथा रेखदेखको क्षेत्राधिकार भित्र रहेका ९० बढी सहकारी मध्ये चालू आर्थिक बर्षमा हाल सम्म १६ वटाले मात्रै त्यस्तो विवरण बुझाएको नगरपालिकाका सहकारी प्रमुख इच्छाराम चौलागाइँले जानकारी दिए ।