इटहरी: इटहरीका रामचन्द्र अधिकारीले आफ्ना पिता माताको नाममा एक करोड रुपैँयाको अक्षयकोष खडा गरेका छन् ।

शुक्रबार अच्छा राई रसिक प्रतिष्ठानले इटहरीमा आयोजना गरेको विशेषाङ्क सार्वजनिकीकरण तथा अक्षयकोष घोषणा कार्यक्रममा उनले पिता तारानिधि र माता धनमाया अधिकारीको नाममा उक्त अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । ‘सामाजिक क्षेत्रमा निरन्तरता योगदान गर्ने उदेश्यले यो अक्षयकोष स्थापना गरिएको हो,’कार्यक्रममा बोल्दै अधिकारीले भने,‘सामाजिक, साहित्यिक र पत्रकारीता क्षेत्रमा योगदा पुर्याउनेलाई सम्मान गर्ने उदेश्यले यो कोष स्थापना गरिएको हो ।’

यसअघि ११ लाख रुपैँया अक्षयकोष राखेर साहित्य, सामाजिक र पत्रकारीता क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गरिदैँ आएको भएपनि यसलाई अझै प्रभावकारी, व्यवस्थित बनाउनका लागि थप गरी एक करोड रुपैँया बनाईएको उनले जानकारी दिए ।

अनुकरणीय काम: मुख्यमन्त्री राई

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कला तथा संस्कृतिका लागि एक करोड रुपैँया छुट्याउनु अनुकरणीय रहेको बताए । उनले भने,‘यो अक्षयकोष राख्नु बिशिष्ट र उदाहरणीय कार्य हो ।’ उनले साहित्य, कला र संस्कृतिको मार्गदर्शन बाट सामाजिक सद्भाव र एकता भएको उल्लेख गरे । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान अन्र्तगत हामीले यसलाई साकार पार्नका लागि नयाँ बाटोमा लागेका छौँ,’उनले भने ।

उनले अहिले तिनै तहका सरकारसँग समन्वय गरेर काम गरिराखेको बताए । ‘प्रदेश सरकारले चाँडै नै लगानी सम्मेलन पनि गर्न लागेको छ,’ उनले भने, ‘हामीले हाम्रो मौलिक पहिचान संरक्षणका लागि पनि काम गर्नुपर्ने हुन्छ ।’ कार्यक्रममा साहित्यकार केशव सुनामले स्वागत मंतब्य राखेका थिए । उनले स्वर्गीय जीवी लुगुनलाई सम्झदैँ भने,‘जीवी लुगुनले स्कुलै नगई पनि यो प्रतिष्ठान सुरुवात गर्नु अनुकरणीय हो ।’ कार्यक्रममा प्राञ्जल २ नामक कृति समेत बिमोचन गरिएको थियो । कार्यक्रम अच्छा राई रसिक साहित्य प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।