काठमाडौं  : अभिनेत्री ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरेकी हुन् । शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्वजनिक गरेकी हुन् ।

तस्वीर राख्दै सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्। -ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।’ सामाजिक सञ्जालमा पनि उनलाई सयौंले बधाइ र शुभकामना दिएका छन् । ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन् । दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।

विवाह गर्नुभन्दा एक महिना अगाडि ऋचाले पोखरामा आफ्ना केही नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् । उनको ब्याचलर पार्टीमा अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत सहभागी थिए । बैबाहिक जीवनमा बाँधिनुभन्दा अगाडि फिल्म ‘हिजो आजका कुरा’ को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् ।