औजार : आजको औजार दैनिकमा “बाल सुधारगृह भित्र विद्यालयको बिजोग” शीर्षकको समाचार छापिएको छ । विराटनगरस्थित बाल सुधारगृहभित्र रहेको विद्यालय बिजोग अवस्थामा सञ्चालन भइरहेको छ । बाल बिज्याइँको आरोपमा कैदीबन्दी रहेका बालकहरुलाई पढाउन स्थापना भएको विराटनगरस्थित सुधारगृहभित्र रहेको माध्यमिक विद्यालय बिजोग अवस्थाले सञ्चालन भइरहेको हो । विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, शिक्षक कर्मचारी, पाठ्यपुस्तक सबैको चरम अभाव छ । सुधारगृहभित्र रहेको विद्यालयमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई पढाउने जम्मा दुईजना मात्र शिक्षक छन् । विद्यालयमा कर्मचारी एक जना पनि छैनन् । विद्यालयको न त अफिस छ न त विद्यार्थीलाई पाठ्यपुस्तक र कापी कलम नै । जेनतेन जुटाएका पाठयपुस्तकहरुको सहयोगमा शिक्षकहरुले पढाउदै आएका छन् । विद्यालयमा विद्यार्थीहरु सबै भुइँमा बसेर पढ्ने गर्छन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “धरानमा कर घटाउनका लागि प्रक्रिया शुरु” शीर्षकको समाचार छापिएको छ । स्थानीय तहले कर तथा राजश्ज वृद्धि गरेपछि व्यापक जनगुनासो बढेको सन्दर्भमा धरान उपमहानगपालिकाका नवनिर्वाचित मेयर तिलक राईले त्यसलाई घटाउने प्रयास भइरहेको बताएका छन् । आफूलाई मतदान गरेर जिताउने मतदातालाई धन्यवाद तथा आभार व्यक्त गर्न हाल पनि बिहान र बेलुका घरदैलोमा व्यस्त भएका बेला दिउँसो नगरपालिकामा भेटिएका मेयर राईले कर तथा राजश्व घटाउने बारे अध्ययन भइरहेको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “भोजपुर टक्सार सडक कालोपत्रेको काममा तीव्रता” शीर्षकको समाचार छापिएको छ । वर्षौसम्म धेरै योजना अलपत्र बनिरहेको उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिले बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ । भोजपुर टक्सार सडक कालोपत्रेका कामले तीव्रता पाएको छ । शुरुवात भएको सात महिनामा ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ ।