धरान: गत बैशाखमा भएको किर्ते चेक काण्ड सेलाउन नपाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो चेक काण्ड सार्वजनिक भएको थियो । पहिलो चेक काण्डमा अहिलेसम्म को को संलग्न थिए भन्ने खुलेको छैन, तर दोस्रो चेक काण्डमा भने प्रतिष्ठानकै विद्यार्थी र बैंकका कर्मचारी पक्राउ परिसकेका छन् ।

पहिलो चेककाण्डमा प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र लेखा प्रमुख रुपा सिंघाञ्चीको हस्ताक्षर थियो । उनीहरुले आफ्नो हस्ताक्षर किर्ते गरेको प्रष्टीकरण दिए । यो घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । पर्वतका जीवन पौडेलको नाममा काटिएको ५ लाख ५० हजारको चेकको भुक्तानी किन दिइएको थियो भन्ने अहिलेसम्म खुलेको छैन । चेककाण्ड चर्कदै गएपछि पुनः रहस्यमय तरिकाले प्रतिष्ठानको खातामा ५ लाख ५० हजार जम्मा भएको थियो ।

यो पहिलो चेककाण्डको रहस्य खुल्न नपाउदै अर्को ४ लाख ८० हजारको चेककाण्ड बाहिरिएको छ । सुम्सेन थापाको नाममा विना आधार र टिप्पणी प्रतिष्ठानको सनराइज बैंकको खाताबाट चेकमार्फत रकम भुक्तानी भएको देखिन्छ । काठमाण्डौंमा फिजियोथेरापिष्ट रहेका थापाले आफुले पैसा नझिकेको र वीपी प्रतिष्ठानसँग कुनै सरोकार नै नभएको प्रहरीमा जानकारी दिइसकेका छन् ।

दोस्रो चेककाण्डमा प्रतिष्ठानबाट उजुरी परेपछि प्रहरीले प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थी पक्राउ गरेको जनाएको छ । यस्तै, सिरहाको मिचैयास्थित सनराइज बैंकको शाखाका दुई कर्मचारी पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिष्ठानको चेक साटेको अभियोगमा एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा पक्राउ परेका छन् भने प्रतिष्ठानकै डा.रोशन यादव भने फरार छन् । यस्तै, सनराइज बैंकको मिचैया शाखाका कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका छन् ।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत ३ जना विद्यार्थी मुख्य दोषी देखिएका छन् । उनीहरुले लेखा शाखाको ड्रबाट करिब ६ महिनाअघि चेक चोरी गरेको वयान दिएका छन् । चेकमा अस्पताल निर्देशक डा.गौरीशंकर शाह र तत्कालिन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ । गत भदौ १९ गतेको मितिमा काटिएको यो चेक विद्यार्थीहरुले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका छन् । अस्पताल निर्देशक डा.साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिइसकेका छन् ।

Bpkihs-cheq1

किर्ते अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकोले बैंकका २ कर्मचारी पक्राउ गरेको जनाएको छ । ‘अनुसन्धान गर्दा ३ जना मिलेर गरेको देखियो, पक्राउ परेका विद्यार्थीले चेक चोरेको वयान दिएका छन्,’डिएसपी न्यौपानेले भने,‘चेकमा भएको हस्ताक्षर हेर्दा स्टाम्प हानेको जस्तो देखिन्छ, त्यसलाई पनि भेरिफाइ गरेको छ ।’ चेकमा भएको हस्ताक्षर अस्पताल निर्देशक डा.साह र दाहालको वास्तविक भए नभएको जाँच गर्न प्रहरीले प्रयोगशाला पठाएको छ । साथमा दुवैको आधिकारिक हस्ताक्षर र पटक पटक पुनः हस्तक्षर गर्न लगाएर प्रहरीले प्रयोगशाला पठाएको छ । यो काण्डमा अब प्रहरीलाई प्रयोगशालाको रिपोर्टको प्रतिक्षा छ ।

प्रहरीले प्रतिष्ठानको लेखा शाखाका कर्मचारीहरुसँग पनि यो घटनाको बिषयमा पटक पटक वयान लिइसकेको छ भने सनराइज बैंकको धरानस्थित शाखाका कर्मचारीहरुलाई पनि अनुसन्धानको दायरामा राखेको छ । प्रतिष्ठानले असार ३१ गते नै बैंकको धरानस्थित शाखालाई पत्र पठाएर चेकमा अस्पताल निर्देशक डा.साह र पुर्व लेखा प्रमुख दाहालको हस्ताक्षर नचल्ने जानकारी गराएको थियो । साउन महिनादेखि चेकमा कार्यवाहक उपकुलपति डा.गुरु खनाल र लेखा प्रमुख रुपा सिंघाचीको हस्ताक्षर चल्नुपर्ने थियो । तर, बैंकको सिस्टममा यो कुरा अपडेट नगर्दा भदौ २७ मा चेक साटिएको भन्दै प्रहरीले सनराइज बैंकको धरान शाखाका केही कर्मचारीमाथि पनि छानबिन गरिरहेको छ । ‘ल्याबबाट के रिपोर्ट आउछ, प्रतिक्षामा छौं,’डिएसपी न्यौपानेले भने । उनका अनुसार विद्यार्थीहरुको कोठाबाट हस्ताक्षर भएको स्टाम्प वरामद भइसकेको छ ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले यो बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । उनले प्रतिष्ठानले आन्तरिक छानबिन पनि गरिरहेको बताए । ‘प्रहरीले नियम कानुनअनुसार कार्वाही गरिरहेकै छ, हामीले पनि आन्तरिकरुपमा छानबिन गरिरहेका छौं,’उनले भने ।