काठमाडौं : हङकङमा महिनौदेखि जारी सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्मकै ठूलो र्‍याली निकालिएको छ ।

गत अगस्टबाट सुरु भएको आन्दोलनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदै कयौंको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । ६ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानवअधिकारवादी संस्थाहरु र लोकतन्त्र समर्थकहरुको मोर्चाले निकालेको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी भएको बीबीसीले जनाएको छ ।

र्‍यालीमा करिब दुई लाख सर्वसाधारण सहभागी भएको बताइएको छ । जुलुसमा सहभागीमध्ये ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुको साथबाट एकथान पेस्तोलसमेत बरामद भएको बताइएको छ । विवादास्पद सुपुर्दुगी विधेयक ल्याउने सरकारको निर्णयको बिरोधमा सुरु भएको आन्दोलन पछिल्लो समय हिंसात्मक बन्दै गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमध्यमहरुले जनाएका छन् ।

विरोध प्रदर्शन हुनुअघि सरकारी अधिकारीहरुले विज्ञप्ती जारी गरेर शान्त रहने आह्वान गरेका थिए । सरकारले विवादमा आएको सुपुर्दुगी सम्बन्धी विधेयक फिर्ता लिएपनि आन्दोलन भने टुंगिएको छैन ।

आन्दोलनकारीले आफूहरुका माग पूरा गर्न हङकङ सरकारलाई अन्तिम अवसर रहेको बताएका छन् । उनीहरुले आन्दोलनका क्रममा पक्राउ परेका नागरिकको बिनासर्त रिहा र स्वतन्त्र निर्वाचनको माग गरेका छन् ।

यसअघि भएका प्रदर्शनहरु हिंसात्मक भएको र सरकारी तथा सार्वजनिक सम्पतिमाथि तोडफोड भएको भन्दै कानुनको शासनको पालना गर्न प्रहरीले आन्दोलनकारीसँग आग्रह गरेको थियो । आन्दोनलमा घुसपैठ भएको हुनसक्ने भन्दै चीनलेसमेत तत्काल समस्याको समाधान गर्न हङकङलाई दवाव दिँदै आएको छ ।