धरान: क्यान्सर रोगबाट पीडित धरानका पुर्वमेयर ध्यानबहादुर राईको उपचारमा आर्थिक सहयोग जुटाउन धरानबासीहरुले अभियान शुरुवात गरेका छन् ।

'हाम्रो अभियान, धरानका पुर्व नगर प्रमुखप्रति सम्मान'नारा दिएर पुर्वनगर प्रमुख राईलाई उपचार खर्च जुटाउन अभियान थालिएको हो । पुर्व मेयर ध्यानबहादुर राई बचाऔं अभियान नाम दिएर धरानका समाजसेवी, पत्रकार तथा राजनीतिक नेताहरुले अभियानलाई तीब्रता दिएका छन् । पुर्वमेयर राई झण्डै १० महिनादेखि भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।

पुर्वमेयर राईलाई स्क्वामस सेल क्यान्सर भएको बताइएको छ । केही दिनअघ स्वयम राईले झण्डै ३५ लाख रुपैया उपचारको क्रममा सकिएको र अझै थप उपचारको लागि ५० लाख भारतीय रुपैया आवश्यक भएको खुलाएका थिए । उनले फेसबुकमा यो स्टाटस पोष्ट गरेपछि नेपालमा सहयोग अभियान शुरुवात भएको हो । पुर्वमेयर राईलाई भएको क्यान्सर दुर्लभ र खर्चिलो मानिन्छ । यो रोग क्यान्सरका रोगीहरुमा पनि ५ प्रतिशतलाई मात्र हुने जानकारहरुको भनाई छ ।

बचाउ अभियानको संयोजकमा पत्रकार महेश श्रेष्ठ छन् भने सहसंयोजकमा शिव वान्तवा राई, कोषाध्यक्षमा कोपिला राई (पत्नी ध्यानबहादर राई) र सचिवमा विदुर पौडेल रहेका छन् । यस्तै, सदस्यहरुमा राजेन्द्र शर्मा, आनन्द श्रेष्ठ, भिम राई पुमा, सदर राई, शिला बज्राचार्य, सविता चाम्लिङ राई, श्रीमती हिमाल राई, केशव घिमिरे, राजीव हलुवाई, सुरेश श्रेष्ठ, लेखराज श्रेष्ठ, शुभचन्द्र राई, ताजुब लिम्बू, मानभगत चाम्लिङ, संजय बास्तोला, रमेश चक्र खड्का र निर्मला शिवाकोटी रहेका छन् । अभियानलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग जुट्न थालिसकेको छ ।

अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिएका राई २०४६ सालको परिवर्तन पछि धरानको मेयर भएका थिए । पुर्वमेयर राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए । उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । धरानको जनसहभागिताको नीतिलाई उनकै पालामा शुरुवात गरिएको थियो भने उनी पछिका मेयर मनोज मेन्यांग्बोले कार्यान्वयन गरेका थिए । पुर्वमेयर राई बौद्धिक, दुरदर्शी व्यक्तित्वकोरुपमा धरानमा परिचित छन् । पछिल्लो समय उनी समाजवादी पार्टीमा छन् ।

आर्थिक सहयोगका लागि
ध्यानबहादुर राई
सनराइज बैंक लिमिटेड
शाखा चाबहिल, काठमाडौं
महाबचत खाता नं.0140014754299001

नोट: थप जानकारीका लागि सम्पर्क महेश श्रेष्ठ, 9862178509

dhyan