ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मिलेमतोमा कोशी टप्पुको वन फँडानी” शीर्षकको समाचार छापिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षकै कर्मचारीको मिलेमतोमा वन फँडानी हुँदै आएको पाइएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट संरक्षण गर्न खटिएका वार्डेनसहितका उच्चपदस्थ कर्मचारीको मिलेमतोमा वन कटानी र फँडानी हुने गरेको स्थानीयको दाबी छ । सुनसरी, सप्तरी र उदयपुर जिल्लाका ७५ किलोमिटरमा फैलिएको कोशी गाउँपालिका ३ स्थित कोशीटप्पु वन्यजन्तु आरक्षको वन फँडानी हुनेक्रम बढेको उनीहरुको भनाई छ । कोशीटप्पु वन्यजन्तु आरक्षको ९ सय ४५ स्परको उत्तरतर्फ लगाइएको सिसौ, सिमल, खयरलगायतका रुख धमाधम फँडानी भएको कोशीटप्पु वन्यजन्तु पश्चिम कुसाहा चोरी निकासी समितिका सदस्य योगेन्द्र उराँवले बताए । आरक्षका वार्डेन रामदेव चौधरीकै मिलेमतोमा वन फँडानी भएको उनको आरोप छ । उनका अनुसार वार्डेन रामदेव चौधरीसहितका कर्मचारीको मिलेमतोमा ठुलो संख्यामा खयर र सिसौका रुख काटिएका छन् । स्काभेटर लगाएर सयौंको संख्यामा रुख र बिरुवा काटिएको दाबी गर्दै उराँवले संरक्षणकर्मीकै मिलेमतोमा काठ काटिनु दुःखद भएको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “जनप्रतिनिधिलाई ‘लगाम कस्ने’ मोरङका दलको तयारी” शीर्षकको समाचार छापिएको छ । जनप्रतिनिधिबाट हुने जनसेवा सम्बन्धी कामका गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । राजनीति दलका नेतृत्वले सेवा प्रवाह गर्ने विधिलाई प्रभावकारी बनाउँदै जनअपेक्षित गर्न सुझाव दिएका हुन् । उनीहरुले दलबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई जनता प्रति उत्तरदायि बनाउन भूमिका खेल्नेसमेत प्रतिबद्धता जनाएका छन् । पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धसमेत सुधार गर्नुपर्ने जनस्तरबाट गुनासो आउन थालेको त्यसलाई दलहरुले संयोजन समिति बनाएर समाधान गर्ने नेताले प्रतिवद्धता जनाएका छन् । विराटनगरमा संवाद समूह मोरङसँगको सवांदमा स्थानीय तहका जनप्रतिनिधि कर शुसासन र राजनीतिक दलहरुको सम्बन्ध विषयक अन्तरसंवादका सहभागीले जनप्रतिनिधिलाई जनतासँग गरेको प्रतिवद्धता प्रति जिम्मेवार बनाउन भूमिका खेल्ने बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पाँचथरमा चिया कृषक पाठशाला” शीर्षकको समाचार छापिएको छ । पाँचथरमा यसअघि अदुवा, अलैचीलगायत नगदेबालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा पनि लागू भएको छ । कृषकहरुलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पाठशाला सञ्चालनमा ल्याइएको हो । कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।