निदाएका बेला सास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । यो एक सामान्य प्रकिया हो । तर, अर्कालाई बाधा पर्ने गरी लामो समयसम्म ठूलो आवाजमा घुर्नुचाहिँ एउटा समस्या हो ।

कारण

सामान्यतया सुतेको समयमा गलाको पछिल्लो भाग साँघुरो हुने गर्छ । अनि, त्यहाँ अक्सिजन पुग्दा कम्पन हुने हुन्छ । उक्त कम्पनबाट घुरेको आवाज निस्कन्छ । नियमित र अधिक मात्रामा मध्यपान-धूमपान गर्नु घुर्नुको मुख्य कारण हो । साथै, एलर्जी हुनु, नाक सुन्निनु, बेलुका बढी खाना खानु, जिब्रो मोटो हुनु आदि पनि घुर्नुका कारण हुन् ।

असर

अधिकांश मानिस निद्रामा घुर्ने समस्याबाट पीडित हुन्छन् । घुर्ने मानिसलाई आफू घुरिरहेको थाहा हुँदैन । यसर्थ, उसलाई खासै समस्या पनि पर्दैन । तर, सँगै सुत्ने साथीलाई भने घुराइले गाह्रो परिरहेको हुन सक्छ । उसको निद्रा बिग्रिएको हुन सक्छ । घुर्ने समस्या सामान्य नै हो । यद्यपि, सधैँ घुरिरहने गर्दा नजिकका मानिससँग सम्बन्ध बिग्रने खतरा हुन सक्छ भन्ने बुझ्नु जरुरी छ ।

रोकथाम

सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ । सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ । शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ ।

मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ । सकभर बेलुकीको खाना हलुका किसिमको लिनुपर्छ । त्यस्तै, बढी चिल्लो-पिरो भएका खाना खानुहुँदैन । घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ । तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ । अत्यधिक धूमपान-मद्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ  । घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिन आवश्यक छ । -नयाँपत्रिकाबाट