सुनसरी: चर्चित वालगायक प्रितम आर्चायलाई इटहरी उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

लैगिंक हिंसा विरुद्धको प्रथम इटहरी सम्मेलनको अवसरमा वालगायत आर्चायलाई नगद ५१ हजारसहित उपमहानगरले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं १ नं प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गायक आचार्यलाई नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

इटहरी ५ का ११ बर्षीय वालक आचार्यलाई इटहरी उपमहानगरको कार्यपालिका वैठकले ५१ हजारसहित सम्मान गर्ने निर्णय गरेको थियो । नियमानुसार कर कटौती गरेर उनलाई नगद पुरस्कारसहित आज सम्मान गरिएको हो । भारतको जिटिभिवाट प्रशारण हुने चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्सको फाइनलमा पुगेका आचार्य तेस्रो भएका थिए । उनको गायकीको चर्चा विश्वभरि भएको थियो ।

इटहरी उपमहानगरले गरेको सम्मानबाट आफू उत्साहित भएको गायक प्रीतमले प्रतिक्रिया दिए । सारेगम लिटिल च्याम्सका लागि भारत जानुअघि इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा र नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए । साथै, तेश्रो भएर गृहनगर फर्किदा उनलाई नगरपालिका परिसरमा भब्य स्वागत गरिएको थियो ।