सुनसरी: १ नं प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक संजालको कारण लैङ्गिक हिंसाका घटना वढेको बताएका छन् ।

लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । मादक पदार्थको सेवन हिंसाको अर्को प्रमुख कारण रहेको पनि मन्त्री घिमिरेको भनाई थियो । उनले १ नम्बर प्रदेश मुलुकमै सबैभन्दा वढि मदिरा सेवन गर्ने प्रदेशकोरुपमा रहेको तथ्यांक पनि खुलाएका थिए । हिंसा विरुद्धको अभियानलाई गाँउवस्तीसम्म पुर्याउन आवश्यक भएको र यसमा स्थानीयतह(सरकार)को भुमिका महत्वपुर्ण हुने पनि मन्त्री घिमिरेले बताए । लैङ्गिक हिंसा विरुद्धको अभियानमा पुरुष सहभागिता वढाउनुपर्नेमा पनि उनको जोड थियो ।

संविधानसभा सदस्य रेवती रमण भण्डारीले महिला हिंसा विरुद्ध अन्य देशमा नभएका प्रावधान समेत नेपालको संविधानमा रहेको बताए । कानुनी दायरा फराकिलो वनाइएको कारण हिंसाको घटना सार्वजनिक हुने क्रम बढेको भण्डारीको भनाई थियो । प्रदेश सांसद लिलम वस्नेतले इटहरी लैगिंक हिंसामुक्त क्षेत्र बन्ने गरि परिणामुखी कार्यक्रम संचालन गरिनुपर्नेमा जोड दिए ।

jiwan-ghimire

इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसुर वाँकी नराख्ने प्रतिवद्धता जनाए । कार्यक्रममा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा लैङ्गिक हिंसाको अवस्थाका वारेमा प्रतिवेदन प्रस्तुत गरिन् । सबै वडाका १९ सय २२ जनासँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको उपप्रमुख गौतमले वताइन् । लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलनमा इटहरीको सवै वडाका गरि तीनसय जना बढी सहभागी छन् । सहभागीहरु सात वटा समूह वनाएर छलफल गरि एक बर्षे कार्ययोजना तयार गरिने बताइएको छ ।