सुनसरी: इटहरी उपमहानगरपालिकास्थित ओसियन पार्कमा आयोजित प्रदेशस्तरीय खुला गजल प्रतियोगिता सम्पन्न भएको छ ।

पहल नामक संस्थाले आयोजना गरेको गजल प्रतियोगितामा सुमन रेग्मी प्रथम भए भने गणेश खतिवडा दोस्रो र पुस्तिका भण्डारी तेस्रो भइन् । यस्तै, सान्त्वना पुरस्कार कुमार प्रधानले हात पारे । प्रतियोगिताको पथम, दोस्रो, तेस्रो र सान्त्वना विजेताहरुले क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार नगद पुरस्कार पाए । साथै उनीहरुलाई प्रमाण पत्र पनि दिइएको थियो ।

यसैबर्ष २०७६ मा स्थापना भएको यो संस्थाले हाजिरीजवाफ, विद्यालयस्तरीय वत्तृत्वकला कार्यक्रमहरु गर्दै आइरहेको छ भने वृद्धश्रममा वृद्धवृद्धाहरुलाई फलफुल वितरण कार्यक्रम पनि गरेको संस्थाका महासचिव देवराज शर्माले जानकारी दिए । संस्थामा ५० जना युवाहरु आवद्ध भएको पनि उनले बताए । स्वास्थ्य, शिक्षा र रोजगारका लागि पहल भन्ने यो संस्थाको मुल नारा रहेको छ । आफु भित्र गुम्सिएर रहेको कला प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले गजल प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष विवेक अधिकारीले बताए ।

संस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत प्रमुख अतिथि रहेका थिए भने बिशेष अतिथिको रूपमा चर्चित कवि मनु मञ्जिल रहेका थिए । प्रमुख अतिथि बस्नेतले युवा पुस्तामा साहित्यप्रति आकर्षण कम हुदै गएकोमा चिन्ता व्यक्त गर्दै यस्तो कार्यक्रमहरुले साहित्यको श्रीवृद्धि र जर्गेना हुने आशा व्यक्त गरे । उनले यस्तो कार्यक्रम निरन्तरता दिन पनि आग्रह गरे । कवि मनु मञ्जिलले संस्था खोल्नु भन्दा निरन्तरता दिनु चुनौती रहेको बताए । उनले गजलले जीवन र गजतको यथार्थलाई प्रस्तुत गर्ने बताए ।