इटहरी: मुख्य राजमार्ग(सडक)हरु समयमा नै निर्माण तथा मर्मतसम्भार नहुँदा आम जनता मारमा परेको भन्दै सर्वसाधारण तथा यात्रुहरु आक्रोशित भएका छन् ।

राजमार्ग निर्माण तथा मर्मत गर्ने जिम्मा सडक विभागअन्र्तगतको डिभिजन कार्यालयको हो । सडक डिभिजनको क्षेत्राधिकार भएकोले स्थानीयतहले राजमार्ग मर्मतसम्भार गर्न सक्दैन । तर, सर्वसाधारण जनताको नजरमा भने स्थानीयतहका जनप्रतिनिधिहरुले काम गर्न नसकेको देखिने गरेको छ । त्यसैले प्रत्यक्ष सरोकार तथा क्षेत्राधिकारमा नपरे पनि राजमार्ग मर्मत तथा समयमा नै निर्माण नभएको भन्दै आम जनताले स्थानीय सरकारको चर्को आलोचना गरिरहेका छन् । कतिसम्म भने धरानमा मंसिर १४ गते भएको उपनिर्वाचनमा कोशी राजमार्गको खाल्डाखुल्डी र धुलोलाई त्यहाँका मतदाताहरुले चुनावी मुद्दा नै बनाएका थिए । उनीहरुले स्थानीय सरकारले खाल्डाखुल्डी पुर्न र धुलो नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पोख्ने काम गरेका थिए ।

कोशी राजमार्ग मात्र होइन, पुर्वपश्चिम राजमार्ग पनि समयमा नै निर्माण तथा मर्मत सम्भार नहुदा सर्वसाधारण जनता धेरै सकसमा छन् । धरान क्षेत्रमा कोशी राजमार्ग बर्षेनी खाल्डा खुल्डी भएर जनताले सास्ती व्यहोर्नु परिरहेको हुन्छ । सडक डिभिजनले मर्मतको नाममा लाखौं खर्च गर्छ, तर एक बर्ष पनि टिक्दैन । निर्माणाधिन रहेको ६ लेन सडकले त इटहरी क्षेत्रमा ठुलो विवाद निम्त्याइरहेको छ । समयमा नै निर्माण कार्य नसक्दा जनताले सास्ती त पाएकै छन्, अझ मुख्य इटहरी चोकमा मापदण्ड अनुसार फराकिलो विस्तार नगर्दा विवादले उग्ररुप लिएको छ । सडक डिभिजन तथा आयोजनाले मुख्य बजार क्षेत्रका व्यवसायिक भवन जोगाउन मापदण्ड मिचेर सडक साघुरो हुने गरि विस्तार गरेपछि विवाद चर्किएको हो ।

सडक आयोजनामा धर्ना

dhrna

यसैबीच, ६ लेन सडक मापदण्ड अनुसार फराकिलो बनाउनुपर्ने भन्दै सडक निर्माण संघर्ष समितिले धर्ना दिएको छ । समितिले इटहरी र तरहरामा बराबर क्षेत्र विस्तार हुनुपर्ने भन्दै सडक आयोजनामा धर्ना दिएको हो ।

सडक निर्माण संघर्ष समितिका संयोजक मदन चुडालका अनुसार यसअघि पटक–पटक इटहरी उपमहानगरपालिका, सडक विभाग र मुख्यमन्त्रीलाई पनि मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराएको भएपनि इटहरी र तरहरामा बराबर फुट कायम नभई सडक निर्माणाधिन रहेको छ । ‘सडक विभागको बेवास्ताका कारण आम मानिसले सास्ती बेहोर्नुपरेको छ,’ उनले भने ।

सुन्दरहरैचामा पनि प्रर्दशन

केही दिन अगाडि मात्र इटहरीको सीमामा पर्ने मोरङको सुन्दरहरैँचामा सडक मर्मत नभएको भन्दै स्थानीय बासीले सांकेतिक रुपमा प्रदर्शन गरेका थिए । सुन्दरहरैँचा वडा नम्बर ४ र ५ का स्थानीयबासी सडक नबनेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय दीपेश श्रेष्ठका अनुसार सुन्दरहरैँचा ४ र ५ नम्वर वडामा पर्ने बाँसबारी चौकस्थित राजमार्ग लामो समयदेखि भताभुङ्ग रहेको छ । ‘हामीले यसअघि पटक–पटक सडक बिभागलाई जानकारी गराएका छौँ,’ उनले भने, ‘तर सडक बिभागले बेवास्ता गर्दै आएकाले आन्दोलनमा उत्रन बाध्य भएका हौँ ।’

sadak