सुनसरी: विभिन्न ११ बुँदे घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसाविरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ ।

इटहरी उपमहानगरद्धारा आयोजित सम्मेलनले एक बर्षको लागि लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम समेत तर्जुमा गरेको छ । सम्मेलनले इटहरी क्षेत्रमा समानुपातिक, समावेशी प्रतिनिधित्व र महिला नेतृत्व विकासको लागि बिशेष योजना बनाउने घोषणा गरेको छ । यस्तै, समान कामको समान ज्याला दिलाउन सहकार्य गर्ने, सार्वजनिक निकायका भवन संरचना अपांग मैत्री वनाउन पहल गर्ने, कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्य गर्ने पनि घोषणापत्रमा समेटिएकोछ ।

महिला सँग जोडिएका अन्य भेदभाव र अपमान जस्ता विभेद, वालवालिका र जेष्ठ नागरिककाविरुद्ध हुने सवै प्रकारका हिंसा र भेदभाव न्यूनिकरण गर्र्ने, नगरपालिकाले पुरयाउने सेवामा सिमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिने लगायत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

itri1

सम्मेलनमा तीन सय भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनले गतबर्षको समिक्षा गरेको थियो भने आगामी एक बर्षको लागि कार्यक्रम पनि तय गरेको छ । घोषणा पत्रमा उल्लेख भएको प्रतिवद्धतालाई कार्यान्वयन गर्न तत्काल काम सुरु गरिने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

सम्मेलनमा उपमेयर गौतमले इटहरीमा लैङ्गिक हिंसाको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले सबै वडाका १ हजार ९सय २२ जनासँग सर्वेक्षण गरेर न्यायिक समिति, प्रहरी र अन्य श्रोतहरुलाई आधार मानेर प्रतिवेदन तयार गरिएको बताइन् । कार्यक्रमको उद्घाटन प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।