औजार : आजको औजार दैनिकमा “कृष्णदास हिरासतमा नबस्ने योजनामा” शीर्षकको समाचार छापिएको छ । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिकिस्त विरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका सिद्धबाबा कृष्णदास अझै अस्पतालमै हिरासतमा छन् । तर सिकिस्त विरामी भएपनि उनी अस्पतालको सुबिधा सम्पन्न क्याबिनमा बसेर प्रहरीलाई बयान दिन आलटाल गरिरहे पनि सहयोगीहरुसँग भने बाक्लै भेटघाट गर्ने गरेका छन् । आफूलाई सिद्धबाबा महाराज कहलाउने कृष्णदास गिरी विराटनगर मुनालपथस्थित विराट नर्सिङ होममा १२ मंसिरदेखि उपचाररत छन् । आफ्नै अनुयायीमाथि बलात्कार आरोप लागेपछि कोखा दुख्यो भन्दै अस्पताल भर्ना भएका उनी प्रहरी पक्राउ गर्न अस्पतालमा आएको थाहा पाएपछि माइनर हर्टअट्याक भएको भन्दै केही दिन आइसियुमा पनि बसे । तर स्वास्थ्य अवस्था जोखिमयुक्त भएको पाइएपछि सुनसरी प्रहरीले कृष्णदासलाई आइसियुबाट पक्राउ गरेर जिल्ला अदालत सुनसरी लगेर जबरजस्ती करणी आरोपमा अदालतमा म्याद थप गरायो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “खर्च नहुँदा दशकदेखि ओछ्यानमा” शीर्षकको समाचार छापिएको छ । झापा विर्तामोड ८ सखरबाडीकी २१ वर्षीया सावित्रा कट्वाल एकदशक देखि ओछ्यानबाट चलमलाउन सकेकी छैनन् । उनको लागि संसार त्यही ओछ्यान छ । शरीरको आधा भागले काम गर्दैन । ९ वर्षको उमेरमा टाँडे घरबाट लडेकी उनी त्यसयताका केही वर्षपछि ओछ्यान सारथी बनेको हो । आमा यमुनाका अनुसार लडेर टाउँकोमा गम्भिरचोट लागेको थियो । त्यसको असर विस्तारै कम्मरभन्दा मुनीको भागमा पर्दै गयो । जायजेथाले भ्याएसम्म उपचारका लागि नेपालमा सबैजसो अस्पतालहरु पुर्याईन् । तर, खर्च मात्रै । अस्पताल धाउँदा धाउँदै तीन लाख सकियो । ‘यता पो ठिक हुन्छ कि उता पो ठिक हुन्छ कि भन्दै कुदाइँयो, तर, केही भएन’ गहँभरी आशु पार्दै उनी भन्छिन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कोसेली दिएर पठाउने सुन्तला कमाइको गतिलो माध्यम” शीर्षकको समाचार छापिएको छ । सुन्तलाका लागि पाँचथरको मिक्लाजुङ गाउँपालिकाको साविक कुरुम्बा गडाविसको वडा नं. २, ३ र ४ निकै चर्चित छ । हरेक घरमा सुन्तला खेति लगाइएको छ । व्यावसायिक रुपमा लगाइएको सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि किसानको मुहारमा खुशी छाएको छ । यतिमात्र हैन सुन्तला खेती बढ्दै गएको छ । यो सुन्तलाको पकेट क्षेत्र हो । प्रायः जसो यहाँका सबै वस्तीमा सुन्तला लगाइएको छ । यतिबेला सुन्तला फलेर बस्तीमा हेरिरहुँ लाग्ने भएको छ ।