धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले धरान वडा नं. ४ का वडाबासीलाई भेटेर वडाबासीको समस्यालाई टिपोट गरेको छ ।

मङ्गलबार मेयर राई ४ नं. वडाका गैरिगाउ, निसाने डाँडा, टर्निङ्ग प्वाइन्ट, देविथान, जामुने, भेडेटार र काम्फेक सम्म पुगेका थिए । वडाबासीलाई मेयर राईले धन्यवाद दिँदै भने, ‘तपाईहरु मेरो मालिक हो, म तपाईहरुको सेवक हँु, यो अढाई वर्ष म तपाईहरुको सेवक भएर तपाईहरुको हरेक सुख दुःखमा साथ रहनेछु ।’ धरान उपमहानगरपालिकाको वडा नं. ४ र २० सबै भन्दा अविकसित र भौगोलिक रुपमा विकट वडाहरु रहेको मेयर राईले बताए । मेयर राईले वडा नं. ४ र २० का विकासका लागि पहिलो प्राथमिकता राख्ने बताए ।

जामुनेका ८२ वर्षीय वृद्धा ठगिमाया कट्वालले नगर प्रमुखलाई अशिर्वाद दिदै भने, ‘हालसम्म कुनै पनि निर्वाचित सांसद, प्रमुख, उपप्रमुखले गाउमा पाईला नटेकेको र नवनिर्वाचित मेयर तिलक राईले मात्र गाउँमा आएर धन्यवाद दिएको भन्दै खुशी व्यक्त गरिन् ।’

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ का सहसचिव तथा भेडेटारका स्थानियबासी प्रेम कुमार राईले स्थानियबासीहरुलाई नवनिर्वाचित नगर प्रमुख राई सदा भ्रष्टचार र वेथितिको विरुद्धमा उभिने भन्दै तिलक राई अब नेपाली काङ्ग्रेसको प्रतिनिधि मात्र नभई सारा धराने जनताको सेवक भएर काम गर्ने विस्वास दिलाए । मेयर राईले मङ्गलबार साँझ ७ बजेसम्म पैदल हिडेर नै स्थानियबासीलाई धन्यवाद दिएका थिए ।