काठमाडौं : यही डिसेम्बर १४ मा विश्वले नयाँ ‘मिस वर्ल्ड’ पाउँदै छ। मिस वर्ल्डको ताजकालागि यतिबेला लन्डनमा १ सय २४ देशका सुन्दरीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गरिरहेकी छन्- मिस नेपाल वर्ल्ड अनुस्का श्रेष्ठ।

हालै सार्वजनिक नतिजाअनुसार अनुस्का उत्कृष्ट ४० मा पर्न सफल भएकी छन्। प्रतियोगितामा हुने विभिन्न प्रतिस्पर्धाअन्तर्गत ‘हेड टु हेड’ च्यालेन्ज पार गर्दै अनुस्का उत्कृष्ट ४० मा पर्न सफल भएकी छन्। दुई चरणमा हुने ‘हेड टु हेड’ च्यालेन्जको पहिलो चरणमा इन्डोनेसिया र दोस्रो चरणमा मेक्सिकन सुन्दरीलाई पछ्याउँदै अनुस्का उत्कृष्ट ४० मा पर्न सफल भएकी हुन्। यससँगै अनुस्का प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि पनि सम्भावना बोकेकी प्रतिस्पर्धी हुन्। भोटिङका आधारमा छनौट हुने यस अवार्डमा अनुस्का हालसम्म उत्कृष्ट ३ मा पर्न सफल छिन्।

भोटका आधारमा हालसम्म मेक्सिको र मंगोलियाकी सुन्दरी भने अनुस्काभन्दा अगाडि छन्। यससँगै अर्को विधा ‘ब्युटी विथ पर्पोज’को उत्कृष्ट १० मा अनुस्काले आफ्नो स्थान बनाइसकेकी छिन्।