काठमाडौं : सरकारले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष प्याकेजको घोषणा गर्नु भएको हो । यस्तै रजत पदक विजेतालाई जनही ६ लाख रुपैयाँ र कांस्य पदक विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको छ ।

त्यस्तै एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गर्नु भएको छ । त्यस्तै फुटबललगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५(५ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गर्नु भएको छ ।
मंगलबार सागको समापनलाई विशेष सम्बोधन गर्नु भएका प्रधानमन्त्री ओलीले बुधबार खेलाडीहरुलाई बालुवाटार नै बोलाएर प्रोत्साहनस्वरुप पुरस्कारको घोषणा गर्नु भएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सरप्राइज प्याकेज घोषणा गर्ने जानकारी दिनु भएको थियो ।
१३औँ सागमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । इतिहासकै धेरै स्वर्ण पदक जित्दै जारी सागमा नेपाल दोस्रो हुन सफल भएको छ । १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ ।