धरान: नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हुने भ्रष्टचार र अनियमितता सकेसम्म अन्त्य गर्ने बताए । उनले भ्रष्टचारको अन्त्य सम्भव नभएपनि न्युनीकरण गर्न आफ्नो हरसम्भव प्रयत्न हुने पनि बताए ।

कानुनमन्त्रीबाट स्वास्थ्यमन्त्रीमा सरुवा भएपछि पहिलो पटक बुधबार प्रतिष्ठान आएका मन्त्री ढकालले पदाधिकारी, चिकित्सक र कर्मचारीहरुसँगको भेटमा यस्तो बताएका हुन् । ‘म एक पैसा खान्न, एक पैसा खानेलाई पनि छोड्दिन,’मन्त्री ढकालले भने,‘यस्तो संस्थामा हुने अनियमितता नियन्त्रण गर्न मुल नेतृत्व नै ठिक हुनुपर्छ । म निःस्वार्थ भावले काम गर्नेछु ।’

मन्त्री ढकालले प्रतिष्ठानमा बिचौलियाको बिगबिगी भएको कुरा आफुले सुनेको उल्लेख गर्दै विचौलियालाई निस्तेज पार्ने बताए । उनले बिचौलियाको जस्तै भेल आएपनि आफुलाई बगाउन नसक्ने बताए । उनले भने,‘मैले सुने, यहाँ बिचौलियाको बिगबिगी छ । जतिसुकै बिचौलियाको भेल आएपनि मलाई बगाउन सक्दैन । यसको अन्त्य गरेरै छोड्छौं ।’

मन्त्री ढकालले राजनीति गरेर प्राप्त भएको पद र ओहदा आफ्नो नीजि सुख र स्वार्थको लागि प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्दै गरे । साथै उनले पैसा कमाउनुपर्ने समय आएपछि आफुले घोषणा गरेर नै पैसा कमाउन लागिपर्ने पनि उनले बताए । ‘म निष्ठावान भएर नै काम गर्नेछु, पैसा कमाउने हो भने आजदेखि म पैसा कमाउन लाग्छु भनेर घोषणा गरेरै लाग्नेछु,’उनले भने ।

मन्त्री ढकालले अब राजनीतिको घेराबाट बाहिर निस्केर शिक्षा र स्वास्थ्य संस्थाहरुको विकास र प्रगतिमा केन्द्रीत हुन पनि सबैलाई आग्रह गरे । वीपी प्रतिष्ठान जस्तो संस्थालाई अनिर्णयको बन्दी बनाउन नहुने धारणा राख्दै उनले संस्थाको हित पहिलो प्राथमिकतामा हुनुपर्ने बताए ।

मातृशिशु, मुटु र क्यान्सर भवन सुचारु गर्न आग्रह

Mch-building6

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनालले प्रतिष्ठानको अवस्थाबारे जानकारी दिदै निर्माणाधिन ४ सय बेडको मातृशिशु भवन, २–२ सय बेडको क्यान्सर र मुटूरोग भवन निर्माण कार्य सुचारु गर्न नसक्नु ठुलो समस्या भएको बताएका थिए । उनले यी भवनहरुको निर्माण कार्य तत्काल सुचारु गर्न आग्रह गरेका थिए ।

डा.खनालले विरामीको चाप बढ्दो भएपनि अस्पतालको क्षमता विस्तार नहुदा समस्या भइरहेको बताए । यस्तै, आइसियु, सिसियु, एनआइसियु,पिआइसियु र एमआइसियु जस्ता सघन उपचार कक्षहरुको पनि क्षमता अभिवृद्धि गर्न आवश्यक भएको र यसमा सरकारको सहयोग आवश्यक भएको कार्यवाहक उपकुलपति डा.खनालले बताए । यसैगरि, डेन्टल चेयर र उपकरणहरु १५ बर्ष पुरानो भएकोले प्रतिस्थापन गर्न आवश्यक भएको, लेभल वान ट्रमा सेन्टर स्थापना आवश्यक भएको, शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको लागि क्वार्टर तथा होस्टल र एक छुट्टै प्रशासनिक भवन आवश्यक भएको पनि डा.खनालले बताएका थिए ।

यस्तै, बार्षिकरुपमा सञ्चालन खर्च वृद्धि हुदै गएपनि मुख्य आम्दानीको स्रोत रहेको विद्यार्थी भर्ना र विरामी सेवा दुवै नै सरकारी निती तथा कार्यक्रमको कारण निःशुल्क भएकोले आयस्रोत कमी हुदै जानु प्रतिष्ठानलाई चुनौती भइरहेको डा.खनालले बताए । यसैगरि, सरकारले वृद्धि गरेअनुसार शिक्षक, कर्मचारीको तलब समायोजन गर्नुपर्नेलगायत थुप्रै चुनौतीहरु पनि डा.खनालले प्रस्तुत गरेका थिए ।