कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । यसले ग्लुकोज उत्पादन र भण्डारण, पित्त उत्पादन, रगत जम्ने तत्व र कोलेस्ट्रोल उत्पादन गर्छ । क्यान्सरका कारण मृत्यु हुनेमध्ये कलेजोको क्यान्सर पाँचौँ स्थानमा पर्छ । कलेजोको क्यान्सरका विभिन्न प्रकारमध्ये ‘हेपाटोसेल्युलर कार्सिनोमा’ मुख्य हो । कलेजोमा हुने विशेष प्रकारको कोष ‘हेपाटोसाइट’बाट यो सुरु हुन्छ । ‘इन्ट्राहेपेटिक कोलांगियो कार्सिनोमा’ र ‘हेपाटोब्लास्टोमा’ गरी अन्य दुई प्रकारका क्यान्सर कलेजोमा हुन्छन् । पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन् ।

कारण

१, ‘हेपाटाइटिस बी’ कलेजो क्यान्सरको मुख्य कारण हो । ५० प्रतिशतभन्दा बढी क्यान्सरको कारक ‘हेपाटाइटिस बी’लाई मानिन्छ । यस्तै, ‘हेपाटाइटिस सी’ भाइरसका कारण पनि कलेजोको क्यान्सर हुने गर्छ ।
२, खानेकुरामा पाइने एक किमिसको टक्सिनले कलेजोमा समस्या ल्याउँछ । भण्डारण गरेर राखिने अन्नमा पाइने ढुसीबाट टक्सिन उत्पादन हुन्छ, जसलाई नष्ट गर्न सकिँदैन । अन्य टक्सिनको प्रभाव पनि कलेजोमा पर्छ ।
३, लिभर सिरोसिस अर्थात् कलेजोमा आउने कडापनबाट पनि क्यान्सरको सम्भावना हुन्छ । अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिमा सिरोसिस हुने गर्छ ।
४, कलेजोका अन्य समस्या भएका व्यक्तिमा क्यान्सरको सम्भावना स्वस्थ व्यक्तिको तुलनामा दोब्बर हुन्छ । नेपालमा अत्यधिक मदिरा सेवन नै कलेजोको क्यान्सरको मुख्य कारण बन्ने गरेको छ ।

पछिल्लो समय नेपालमा कलेजो क्यान्सरका बिरामी बढ्दो क्रममा छन् । अत्यधिक मदिरा सेवन नै कलेजोको क्यान्सरको मुख्य कारण बन्ने गरेको छ ।

उपचार

१, क्यान्सरको स्टेजका आधारमा यसको उपचारमा विभिन्न पद्धति अपनाइन्छ । सुरुको स्टेजमै कलेजोको क्यान्सर पत्ता लागेमा औषधि प्रयोग गर्न सकिन्छ ।
२, प्रभावित भागलाई निकालेर पनि यसको उपचार गरिन्छ । क्यान्सर एड्भान्स स्टेजमा पुगिसकेको खण्डमा किमोथेरापी गरिन्छ । कलेजो पूरै बिग्रेको खण्डमा प्रत्यारोपण विधि अपनाइन्छ ।

कसरी थाहा पाउने ?

१, क्यान्सर भएमा कलेजो सुन्निने वा दुख्ने हुन्छ । पेटको माथिल्लो भाग दुख्ने, जिउमा असजिलो महसुस हुने र बान्ता हुनेजस्ता लक्षण देखिन्छन् । तौल असामान्य रूपमा घट्छ । कमजोरी वा थकान महसुस हुन्छ ।
२, लिभर सिरोसिस र हेपाटाइटिसका बिरामीमा क्यान्सर हुने सम्भावना बढी हुने भएकाले यस्ता लक्षण देखिन्छन् । खान मन नलाग्ने, छाला पहेँलो हुने र बिस्तारै दुब्लाउँदै जाने समस्या देखिन्छन् ।

प्रा.डा. भूपेन्द्रकुमार बस्नेत, पेट तथा कलेजोरोग विशेषज्ञ, वीर अस्पताल -नयाँपत्रिका दैनिकबाट