खाँदबारी : संखुवासभा जिल्लाको मादी नगरपालिका-५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

गएराती १२ बजेतिर गरिएको आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आगजनी गरेको हुनसक्ने मेयर सुब्बाले बताएका छन् ।

आगलागी गर्ने समूहले मादी-ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटर समेत जलाएका छन् । आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनास्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीका ५० र १५ जना शसस्त्र प्रहरी परिचालन गरिएको संखुवासभा प्रहरी प्रमुख डिएसपी मिम लामाले बताए । आगजनीमा संलग्नहरुको खोजीकार्य भइरहेको जनाएको छ ।