धरान: नेकपा पक्षका कार्यपालिका सदस्यहरुको अनुपस्थितिको कारण शुक्रबार स्थगित भएको धरान उपमहानगरको कार्यपालिका बैठक आज सोमबार सौहार्दपुर्णरुपमा सम्पन्न भएको छ ।

मंसिर १४ गतेको उपनिर्वाचनबाट कांग्रेसबाट मेयरमा विजयी भएका तिलक राईको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक भएको हो । चुनाव पछिको पहिलो बैठक भएकोले कार्यपालिका सदस्यहरुले मेयर राईलाई स्वागत र परिचयात्मक कार्यक्रम पनि भएको थियो । बैठकले धरान स्थापनाको दिवसलाई ३ दिन उत्सवकोरुपमा मनाउने प्रस्ताव पारित गरेको छ भने जटिल रोग क्यान्सरको उपचार गराइरहेका धरानका पुर्वमेयर ध्यानबहादुर राईलाई पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । उनका अनुसार बैठकमा खानेपानी आयोजनाबारे पनि चर्काेरुपमा कुरा उठेको थियो भने आयोजनाबारे भोली मंगलबार सर्वपक्षीय छलफल आयोजना हुनेछ ।

बैठकमा कर समायोजनको प्रस्तावबारे भने निर्णय भएन । मेयर राईले पदभार ग्रहण गर्दा कर समायोजनको लागि अध्ययन गर्न विज्ञहरु सम्मिलित सुझाव कार्यदल गठनको प्रस्ताव कार्यपालिका बैठकमा लैजाने निर्णय गरेका थिए । सोही निर्णयअनुसार कार्यदल गठनको प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्नुपर्नेमा आवश्यक तयारी नपुगेकोले छलफलमा नलगिएको मेयर राईले बताए । ‘आवश्यक तयारी गरेर प्रस्तुत गरौं भन्ने साथीहरुको सुझाव आएकोले कर बारेमा छलफल भएन,’मेयर राईले भने ।