इटहरी: सिद्धबाबा भनिने कृष्ण बहादुर गिरी(कृष्णदास)बाट बलात्कृत भनिएकी पीडित महिलाले सुनसरीका प्रहरी नायव उपरीक्षक(डिएसपी) विनोद शर्माले पैसा, गाडी र अपार्टमेन्टको प्रलोभन देखाएको आरोप लगाएकी छिन् ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले डिएसी शर्माले कृष्णदासको पक्षबाट पैसा र भनेजति सुबिधा दिने प्रलोभन दिदै मिल्न दबाब दिएको बताइन् । डिएसपी शर्माले बयान फेरेको र आफुमाथी अन्याय गरेको उनको आरोप छ । शर्माले आफ्ना श्रीमान्लाई काठमाण्डौमा भेटेर पैसा, अपार्टमेन्ट, सरकारी जागिर र कार दिने प्रलोभन देखाएको उनले बताइन् । आफुमाथी बारम्बार बलात्कार भएको भन्दा पनि सिद्धबाबा भन्ने बलात्कारीले उन्मुक्ती पाएको उनले पीडा पोखिन् ।

krishna-das1 1

बलात्कार आरोपी गिरी सोमबारै सुनसरी जिल्ला अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । उनी रिहा भएसँगै महिला अधिकारकर्मीहरुले अदालतको आदेशको विरोध जनाएका थिए । तिनै अधिकारकर्मीहरुको पहलमा इटहरीमा पत्रकार सम्मेलनको आयोजना भएको थियो । पत्रकार सम्मेलनमा पीडित महिलाले गिरीले आफुलाई पहिला नै बलात्कार गरेको र आज सुनसरी जिल्ला अदालतबाट पुनः बलात्कार भएको महसुस भएको बताईन् ।

आफु अझै चुप लागेर नबस्ने भन्दै उनले अब सर्वोच्च जाने उद्घोष गरिन् । 'निर्मला पन्तले मरेपछि पनि न्याय पाइनन्, मैले बाँचेको छु, अब न्यायको लागी लड्छु,'उनले भनिन्,'सर्वोच्चबाट पनि भएन भने म अन्तराष्ट्रिय अदालत जान तयार छु ।' पछिल्लो समय आफुमाथि थुप्रै सुरक्षा चुनौती बढेको भन्दै उनले सुरक्षाको माग पनि गरेकी छिन् ।