सुनसरी: आफ्नै महिला अनुयायी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्ण बहादुर गिरी(कृष्णदास) उर्फ सिद्धबाबालाई ३ लाख धरौटीमा छोड्ने जिल्ला अदालत सुनसरीको आदेशप्रति अनेक टिकाटिप्पणी र आलोचनाहरु भइरहेको छ ।

एउटी महिलाले आफुमाथि कृष्णदासले बलात्कार गरेको किटानी जाहेरी दिएको र फोनमा कृष्णदासले ती पीडित महिलामाथि माफी मागेको अडियोसमेत सार्वजनिक भइसकेको थियो । त्यसैले अदालतले कृष्णदासलाई पुर्पक्षको लागि थुनामा पठाउने अपेक्षा सबैले गरेका थिए । तर, हिजो सोमबार न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलाशले कृष्णदासलाई ३ लाख धरौटीमा छाड्न आदेश दिए पछि सबै आश्चर्यमा परेका छन् ।

खासमा कृष्णदासलाई बलात्कारको आरोप लगाउदाको सुरुवाती प्रमाण जाहेरी मात्र थियो । बलात्कार भएको भनिएको दिन र जाहेरी दिदाको समय लामो अन्तराल भएकोले स्वास्थ्य परीक्षण रिपोर्टले बलात्कार भएको ठोस प्रमाण जुट्नसक्ने अवस्था थिएन । जाहेरी परेको केही समयपछि एक टेलिभिजन कार्यक्रममार्फत पीडित महिलासँग कृष्णदासले माफी मागेको अडियो सार्वजनिक भएको थियो । यो अडियो मात्र कृष्णदासविरुद्ध एउटा गतिलो प्रमाणकोरुपमा थियो ।

घटनामा प्रहरीले शुरुवातदेखि नै गम्भीरतापुर्वक अनुसन्धान नगरेको आरोप लाग्दै आएको थियो । पीडित महिलाले प्रहरीले आफैलाई नै फसाउन लागेको भन्दै महान्यायाधिवक्ता कार्यालय पुगेकी थिइन् । त्यसपछि मात्र सरकारी वकिल कार्यालयले अडियोलाई समेत प्रमाणको रुपमा अनुसन्धान गर्न दवाब दिएको थियो ।

सामान्यतया प्रहरीले प्रतिवेदन बुझाए पछि सरकारी वकिलले अदालतमा मुद्दा दायर गर्ने गर्छ । तर, यो घटनामा भने सरकारी वकिल कार्यालयले पनि थप अनुसन्धान गरेको थियो । सरकारी वकिलसँग कृष्णदासले पीडित महिलासँग माफ मागेको अडियो आफ्नै भएको स्विकार गरेका थिए । उनले त्यसबेला आफ्ना अनुयायीहरुको आग्रहमा आफुले करणी नगरे पनि धर्मरक्षाको लागी माफी मागेको बताएका थिए । तर, अदालतमा भने उनले आफुले दिएको बयान झुठो रहेको बताए । अदालतको सवाल नम्बर १९ को जवाफी बयानमा कृष्णदासले पीडितसँग फोनमा बोलेको र माफ मागेको झुट भनेका छन् ।

प्रमाण ऐन २०३१ को दफा १८ अनुसार सरकारी अख्तियारवाला व्यक्ति अर्थात सरकारी वकिल समक्ष दिएको बयान प्रमाण हुने उल्लेख छ । सरकारि वकिललाई दिएको बयान समेत प्रमाण हुने भए पनि अदालतले भने यो कानुनी प्रावधानलाई वेवास्ता गरेको छ ।'प्रमाण ऐनले स्पस्ट सिद्धबाबाको पहिलो बयान प्रमाण हुने बताएको छ,'अधिवक्ता अश्विनी भट्टराई भन्छन,'तर अदालतले दिएको आदेशमा भने कतैपनि त्यो बिसयलाई मध्यनजर गरेको देखिदैन ।'

कृष्णदासले मात्र होइन, उनका अनुयायी भोला बरालले पनि कृष्णदासले धर्मको लागी माफी मागेको स्वीकारेका थिए । उनले भनेका छन्, गुरुबाट त्यस्तो कार्य नहुने भए पनि कल्पनामा डुबेकी साधिकाबाट गल्ती हुन गयो भनेर बाबा जीले मेरै मोबाइलबाट फोन सम्पर्क गर्नुभएको हो । वयान स्वीकारोक्तिलेमात्र होइन, विधिबिज्ञान प्रयोगशालाको रिपोर्टले पनि अडियोमा भएको आवाज कृष्णदासको नै भएको रिपोर्ट आएको छ । प्रयोगशालाको रिपोर्टमा ७६.९ प्रतिशत आवाज मिलेको अदालतले स्विकारेको पनि छ, तर अदालतले भने ठुलो प्रमाणको रुपमा लिएन ।

कुनैपनि मुद्दामा तत्काल कायम रहेको ठोस प्रमाणको आधार फौजदारी कार्यविधि संहिता अनुसार पुर्पक्षका लागी कारागार चलान गर्नुपर्छ । यो प्रकरणमा भने मुल प्रमाण अडियो रेकर्ड प्रमाणित हुदाहुदै पनि कृष्णदास पुर्पक्षमा गएनन् । कार्यविधि संहिताको परिच्छेद ७ दफा ६७ भन्छ,'अभियुक्त तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिने भएमा वा कसूरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाई पुर्पक्षको लागि थुनामा राख्नेछ।'