बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिकामा वडा नं ३ को केन्द्र(वडा कार्यालय)को स्थानबारे मेयर र वडा कार्यालयबीच तीब्र विवाद सृजना भएको छ ।

मेयर र वडाबीचको विवाद चर्कैदै गएपछि वडा नं ३ का अध्यक्ष रुद्रबहादुर दाहालले नगरको प्रवक्ताबाट राजिनामा दिएका छन् भने वडा अध्यक्षबाट पनि राजिनामा दिने चेतावनी दिएका छन् । उनले पुष १६ गते मेयर निलम खनाललाई लेखेको पत्रमा कानुनले वडा कार्यालयलाई दिएको अधिकार कुण्ठित गरेको आरोप पनि लगाएका छन् । साथै, मेयर खनाल जग्गा व्यापारीहरुसँग मिलेमतो गरेको पनि गम्भीर आरोप लगाएका छन् । उनले दिएको यो राजिनामा पत्र आज मात्र सार्वजनिक भएको हो ।

वडा अध्यक्ष दाहालका अनुसार वडा कार्यालयले केन्द्र तोकेर सम्पुर्ण प्रक्रिया पुरा गरेर नगर सभाबाट बजेटसमेत विनियोजन भएको थियो । भवन निर्माणका लागि ठेक्का आह्वानको सुचना प्रकाशित गरिसकेको अवस्थामा अहिले जग्गा प्लटिङ गर्ने व्यापारीहरुसँग मिलेर मेयरले वडा कार्यालय अन्तै बनाउनुपर्छ भनेर लागिपरेको अध्यक्ष दाहालले बताए ।

baraha1

वडा कार्यालयले नडाहा चोकमा वडा कार्यालय केन्द्र बनाउने निर्णय गरेर नगरसभाबाट बजेट पनि विनियोजन भइसकेको छ । सम्पुर्ण प्रक्रिया पुर्याएर भवन निर्माण शुरु हुने बेला अहिले मेयरसाबले अन्तै बनाउने कुरा गर्दै हुनुहुन्छ,’अध्यक्ष दाहालले भने,‘प्लटिङ गरेको ठाउँमा ६ कट्टा जग्गा दिने भएपछि मेयर साबले सम्झौता गरिसकेको कुरा आएकोले विरोध जनाएर प्रवक्ताबाट राजिनामा दिएको हो ।’

मेयरले जग्गा व्यापारीहरुसँग मिलेमतोमा भानुचोक भन्ने ठाउँमा वडा कार्यालय बनाउने सम्झौता गरेको वडा अध्यक्ष दाहालले बताए । गएको बैशाख २७ गते वडा समितिको बैठकले वडा कार्यालय नडाहा चोकमा बनाउने निर्णय गरेको थियो । सोही निर्णयवमोजिम नगर सभाले बजेटसमेत विनियोजन गरेर ठेक्का प्रक्रिया अघि बढेको थियो । यो बिषयमा बुझ्न मेयर खनालसँग सम्पर्क गर्दा उनको मोवाइल स्वीच अफ थियो ।