धरान: सुनसरीको बराहक्षेत्र नगरपालिकामा मेयर र वडा नं ३ का वडाअध्यक्षबीच वडा कार्यालयको भवन कहाँ बनाउने भन्ने विवाद चर्किएको छ ।

वडाअध्यक्ष रुद्रबहादुर दाहालले मेयर निलम खनालले जग्गा व्यवसायीसँग मिलेमतो गरेर वडा कार्यालयको केन्द्र अन्यत्र सारेको आरोप लगाउदै नगरको प्रवक्ताबाट राजिनामा दिएको सावजनिक भएपछि विवादले झन् उग्ररुप लिएको छ । मेयर खनालले जग्गा प्लटिङ गर्ने व्यापारीहरुसँग मिलेमतोमा सम्झौता गरेर वडा कार्यालयले गरेको निर्णयविपरीत ठाउँ सारेको वडाअध्यक्ष दाहालको आरोप छ ।

मेयर खनालले वडा कार्यालय बनाउनको लागि जग्गादातासँग सम्झौता भएको स्वीकार गरे । तर, उनले आफुले व्यक्तिगत फाइदा भने नलिएको दाबी गर्दै अध्यक्ष दाहालले लगाएको आरोपको खण्डन गरे । उनले व्यक्तिगत फाइदा लिएको भेटिए कारबाही भोग्न तयार भएको पनि बताए । ‘२ बर्षदेखि निरन्तर बजेट विनियोजन गर्दा पनि अध्यक्षले कार्यालय बनाउन किन सकेनन् ? अहिले जग्गा दाता भेटियो र वडा कार्यालय बनाउन सम्झौता गरेको हो,’मेयर खनालले भने,‘एउटा दाताले जग्गा दिनुभयो, विसुद्ध वडा कार्यालयको लागि जग्गा लिएबाहेक केही भेटेमा म कारबाही भोग्न पनि तयार छुँ ।’

मेयर खनालले आफ्नो पार्टीको रोहबरमा नै सम्झौता भएको दाबी गरे । उनले वडाअध्यक्षले नडाहा मात्र कार्यालय बनाउनुपर्छ भन्नुको पछाडि केही स्वार्थ भएको पनि अनुमान गरे । ‘उहाँ त्यही ठाउँमा मात्र किन बन्नुपर्छ भन्नुहुन्छ ? अहिलेसम्म किन बनाउनु भएन ? त्यहाँ कुन प्रयोजनको लागि भन्दै हुनुहुन्छ ?’मेयर खनालले भने ।