धरान: धरान–१९ स्थित किरातेश्वर उच्च माविका विद्यार्थीहरुसँग लागुऔषध विरुद्धको अन्तरक्रिया गरिएको छ ।

आइतबार धरान उपमहानगरपालिका सामाजिक महाशाखाको आयोजना तथा किरातेश्वर उच्च माविको व्यावस्थापनमा लागुऔषध दुब्र्यासनी विरुद्धको अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानले सहजिकरण गरेका थिए । उनले लागुऔषध दुब्र्यासनी भनेको के हो ? त्यसबाट पर्ने असर, बच्ने उपाय, कानुनले दिने दण्ड सजायको बारेमा विद्यार्थीहरुलाई सचेतना गराएका थिए । उनले कानुनले बर्जित गरेका समाजमा घट्ने विभिन्न खाले हिंसाका बारेमा समेत बताएका थिए ।

अन्तरक्रियामा कक्षा ८–१० सम्मका ४५ जना छात्र–छात्राहरुको सहभागीता रहेको विद्यालयका प्रअ डा.योगेन्द्र पालुङ्वाले बताए । धरान उपमहानगर सामाजिक महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले विद्यार्थीहरुको जिवनमा भविष्यमा पर्न सक्ने चुनौतीलाई बेलैमा सचेतना अपनाउनको लागि विद्यालय केन्द्रीत रहेर लागुऔषध विरुद्धको अभियानलाई जोड दिएको बताइन् । ‘विद्यार्थी भाइबहिनीहरुको जिवनमा पर्न सक्ने चुनौतीहरुलाई बेलैमा समाधान गर्नुपर्छ भनेर कार्यक्रम अघि सारेका छौं’ उनले भनिन् ‘धरानको अवस्थालाई मध्यनजर गदै लागुऔषध विरुद्धको सचेतना अभियान सञ्चालन गरिएको हो ।’

विगतमा उपमहानगरले विभिन्न संघ संस्थामार्फत यस्ता कार्यक्रम ल्याएपनि अहिले कर्मचारी समायोजन भइसकेपछि आएपछि उपमहानगरले निरन्तर रुपमा यस्ता कार्यक्रलाई अघि सार्ने प्रयत्न गरिरहेको बताइन् । उनले भौतीक विकास मात्र विकास सोच्न नहुने बताउदै समाजिक विकास महाशाखा अन्तर्गत पर्ने महिला, वालवालिका, जेष्ठ नागरिक लक्षित कार्यक्रमहरुलाई सरोकारवाला निकायसंग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताइन् ।