औजार : आजको औजार दैनिकमा “एमसीसीको पक्षमा कांग्रेसः सभापति देउवा” शीर्षकको समाचार छापिएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवार चयनमा नेकपाभित्र झगडा गर्ने भए आफ्नो पार्टीलाई दिन आग्रह गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख चयनका विषयमा नेकपाभित्र आपसमा झगडा गर्ने भए सभामुख कांग्रेसलाई दिन आग्रह गरेका हुन् । उनले संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन् । नेकपाको विवादका कारण संसद सञ्चालन नहुँदा महत्वपुर्ण विषयको निर्णय ढिला हुने र देशलाई हेर्ने विश्वको दृष्टिकोणमा नकरात्मक प्रभाव पर्ने देउवाले बताए । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायताका विषयमा बोल्दै देउवाले कांग्रेसले अनुमोदन गर्ने भनेर पास गरिसकेको बताउँदै संसदमा अनुमोदन गर्न आग्रह पनि गरे । कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने उनले दाबी गरे। असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै उनले भने, ‘महाधिवेशन समयमा हुनेमा अब आशंका छैन् ।’ कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले असन्तुष्ट पक्षका नेताहरु पौडेल र सिटौला समूहको उपस्थितिबिना ०७७ फागुन ७ गतेदेखि १० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “कहिले बन्ला मेची पुल जोड्ने पक्की सडक ?” शीर्षकको समाचार छापिएको छ । मेची पुल सञ्चालनमा आएको ११ महिना पुरा भयो । गत २०७५ साल माघ १७ गते प्रधानमन्त्री केपी सर्मा ओलीले मेची पुलको उद्घाटन गरे । जनतामा केही उत्साह पनि जाग्यो तर, सोचेजस्तो भएन जनता फेरि निराश नै बन्न पुगे । कारण पुल जोड्ने एप्रोज रोड (कालोपत्रे सडक) अझै निर्माण हुन सकेको छैन । नेपाल भारत दुबैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी व्यवसायीलगायत सर्वसाधारण चिन्तित बनेका हुन् । कालोपत्रे सडक निर्माण कार्यलाई चाँडो सम्पन्न गराउन स्थानीय सरकार, राजनीतिक दल, उद्योगी व्यवसायी, नेपाल भारतमैत्री संघले दुबै देशका सरकारलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाउँदै आएपनि समस्या जस्ताको त्यस्तै छ । वर्तमान प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रममा चाँडै पुल जोड्ने दुबैतर्फको रोड बन्ने आश्वसन दिएका थिए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “संकटमा सिमसारका चरा” शीर्षकको समाचार छापिएको छ । चराहरुको राजधानी भनेर चिनिने रामसार क्षेत्रमा सूचीकृत सिमसार क्षेत्र कोशी टप्पुमा पाइने पानी चराहरुको संख्या घट्दै गएको पाइएको छ । ठूलो संख्यामा झुण्डका झुण्ड बसाई सराई आउने पाहुँना चरा र स्थानीय रैथाने चराहरुले छ्याप्पै ढाकिने कोशी टप्पु क्षेत्रका सिमसारहरु पहिल्ला समयमा पातलिदै गएको वर्षेनी हुने चरा गणनाको क्रममा पाइएको हो । गत २५ पुसबाट शुरु भएको पाँचदिने पंक्षी गणनाका क्रममा चराहरुको मुख्य बासस्थानको रुपमा रहेको सप्तकोशी नदी सहित आसपासका सिम क्षेत्रहरुमा पुगेका विज्ञहरु सहितको गणक टोलीले यो पटकको गणनाकोक्रममा अघिल्ला वर्षहरु जस्ता एकै ठाउँमा ठूला ठूला झुण्डमा चराहरु नभएको जनाएको छ ।