अफ्रिका : संयुक्त राष्ट्रसंघले दक्षिण अफ्रिकी मुलुकमा खाद्य संकट चुलिएको जनाएको छ । खडेरी र बाढीका कारण गरिबीमा रहेका करिब चार करोड ५० लाख व्यक्तिलाई खाद्यान्न सहयोग आवश्यक देखिएको राष्ट्रसंघले जनाएको हो ।

भोकमरीको यो सङ्कट दक्षिण अफ्रिकामा अहिलेसम्म नभोगेको र नसोचेको अवस्थामा पुगेको र यो दर अझै बढदो अवस्थामा रहेको विश्व खाद्य कार्यक्रमले जनाएको छ । इस्वाटिनी, लेसोथो, मदागस्कर, मालावी, मोजाम्विक, नामिविया, जाम्बिया र जिम्बाब्वेलगायतका दक्षिण अफ्रिकी मुलुकहरूमा नागरिकले अत्यधिक खाद्यान्न सङ्कटको सामना गरिरहेका छन् ।

मौसम विज्ञहरूले यस क्षेत्रमा यस वर्ष अझ तातो र सुख्खा मौसमको सामना गर्नुपर्ने बताएका छन् । दक्षिण अफ्रिकामा लामो समयसम्म खडेरी परेको र त्यसपछि एक्कासी परेको वर्षाका कारण स्थानीय कृषि उत्पादनमा अनपेक्षित क्षति पुग्दा यहाँका नागरिकले आफ्ना बहुमुल्य सम्पत्तिलाई बेचेर खाद्यान्न व्यवस्थापन गर्नुपरेको छ ।

महङ्गो खाद्यान्नको जोहो गर्नुपर्दा देखिएको गरिबीले विद्यालयको शुल्क तिर्न नसक्दा धेरै विद्यार्थी विद्यालयबाट बाहिरिएका छन् । निम्न आर्थिक वृद्धि, बढ्दो जनसङख्या दर, खडेरी र बाढीको प्रभाब नै खराब खाद्य सङ्कटको कारक भएको विश्व खाद्य कार्यक्रमले जनाएको छ ।

यसैबीच विश्व खाद्य कार्यक्रमले यस वर्ष अफ्रिकामा खाद्य असुरक्षाको पीडामा रहेका ८३ लाख जनसंख्यालाई खाद्यान्न सहयोग वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । बाँकी समस्यासँग जुध्न कार्यक्रमले विश्व समुदायको ध्यानाकर्षण गरेको छ । यूरोपेली संघले दुई करोड २८ लाख मानवीय सहायताको राहत कार्यक्रममार्फत यस क्षेत्रमा काम गरिरहेको जनाएको छ ।