धरान: स्थानीयस्तरमा धरानको प्रतिभावान खेलाडी जन्माउने प्रतियोगिता हो, गोधुली रनिङ कप । नेपाली फुटबलमा बुढासुब्बा गोल्डकपको जति महत्व छ, धरानको घरेलु फुटबलमा गोलुधी रनिङ कपको महत्व उतिकै छ ।

यो धरानको अन्तरवडास्तरीय फुटबल प्रतियोगिता हो । वडा कार्यालयहरुले आफ्नो वडाको खेलाडीहरु समेटेर फुटबल टोली तयार गर्छन्, र प्रतियोगितामा सहभागी गराउछन् । गोलुधी कप नेपालकै चर्चित बुढासुब्बा गोल्डकप भन्दा पनि पहिला शुरु भएको प्रतियोगिता हो । बुढासुब्बा २०५५ सालदेखि शुरु भएको हो भने गोधुली २०५० सालबाट नै शुरुवात भएको हो । तर, बीचमा केही बर्ष यो गोधुली रोकिएको थियो ।

धरानेहरुमाझ लोकप्रिय गोधुली कपको २० औं सँस्करण अहिले आयोजना भइरहेको छ । प्रतियोगिताको फाइनलमा शनिबार वडा नं १७ र वडा नं १६ बीच उपाधि भिडन्त हुदैछ । धरान १६ स्थित रंगशालामा हुने फाइनलमा दुवै टोली नयाँ इतिहास रच्ने लक्ष्यको साथ उत्रनेछ । वडा १७ लगातार तेस्रो पटक विजेता बन्ने अवसरमा छ भने वडा १६ पहिलो पटक उपाधि उचाल्ने अवसर छ ।

godhuli-final

वडा नं १७ ले गोधुली कपको १८ औं र १९ औं सँस्करण लगातार जितेको थियो । यसपटक पनि उपाधि जितेर वडा नं १७ ले रनिङ ट्रफी स्थायीरुपमा आफ्नो कब्जामा पार्ने अवसर छ । वडा १७ का प्रशिक्षक योगेन राईले यसपाली पनि उपाधि जितेर इतिहास रच्ने लक्ष्य राखेको बताए । उनले भने,‘यसपाली पनि हामी विजेता बनेर लगातार ३ पटक विजेता हुने र ट्रफी पच गर्ने लक्ष्यमा छौं । उपाधि जित्छौं ।’ टिममा अनुभवी र युवा खेलाडी भएकोले टिम वलियो भएको उनले दाबी गरे । आफ्नो टिमको फिनिसिङ वलियो भएको उनले बताए ।

वडा नम्बर १६ पनि गोधुली कपमा नयाँ च्याम्पियन बन्ने दाउमा छ । यसअघि पनि थुप्रै फाइनल खेले पनि वडा नं १६ ले उपाधि उचाल्ने मौका पाएको छैन । पहिलो पटक घरेलु मैदानमा आयोजित प्रतियोगिताको फाइनलमा पुगेका १६ लाई दर्शकको पनि साथ छ । ‘हामीलाई होम ग्राउण्ड र सपोर्टरको साथ छ । यसपाली जसरी पनि जित्छौं,’वडा १६ का प्रशिक्षक उमाकान्ता अधिकारीले भने । वडा नं १६ को मिडफिल्ड र रक्षा पंक्ति वलियो छ । युवा र अनुभवी खेलाडीहरुको तालमेलले टिमवर्क राम्रो छ ।

wada-16

प्रतियोगिताको विजेताले रनिङ ट्रफी र नगद १ लाख ११ हजार १ सय ११ रुपैया हात पार्नेछ । यस्तै, उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ११ हजार र सर्वाधिक गोलकर्ता खेलाडीले ७ हजार ५ सय रुपैया पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ राइजिङ प्लेयर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट मिडफिल्ड र फाइनलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई जनही ५ हजार ५ सय प्रदान गरिने आयोजक गोधुली क्लबले जनाएको छ ।

wada-17